महराकाे व्याकले शंकरलाई सहज

असोज ०४, २०७

मंसिर ४ गतेका लागि संसदीय चुनाव घोषणा हुनभन्दा अघिदेखि नै दाङ क्षेत्र नम्बर २ चर्चामा थियो। ५ वर्षअघि भएको चुनावमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्य बनेका थिए। महरा प्रतिनिधि सभामा जाँदा हालका एमाले महासचिव शंकर पोखरेलले यही क्षेत्रअन्तर्गतको प्रदेश सभा सदस्यमा लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका थिए। 

अघिल्लोपटक मिलेर चुनाव लडेका पोखरेल र महरा यसपटक भने प्रतिस्पर्धी हुने चर्चा थियो। तर अब महरा शंकर पोखरेलको प्रतिस्पर्धी नबन्ने भएका छन्। 

महराको नाम माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ। महरा प्रत्यक्ष चुनाव नलड्ने भएपछि शंकर पोखरेलले अर्को कोही प्रतिस्पर्धीको सामना गर्नेछन्। 

प्रतिनिधि सभाको निर्वाचन लड्न दाङ क्षेत्र नम्बर २ मा शंकर पोखरेल एकल सिफारिस भएका छन्। प्रत्यक्षतर्फको उम्मेदवारी सिफारिस हुँदा माओवादी उपाध्यक्ष महरा भने एकल सिफारिस भएनन्। माओवादी केन्द्रले दाङ २ बाट महरासहित पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र जिल्ला इन्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरेको छ। 

सत्ता गठबन्धनका दलबीच भएको सहमतिअनुसार दाङ क्षेत्र नम्बर २ माओवादी केन्द्रकै भागमा पर्ने सम्भावना छ। त्यसो भएमा शर्मा र आचार्यमध्ये एक जना पोखरेलको प्रतिस्पर्धी हुने देखिन्छ। यी दुईमध्ये बढी सम्भावना रेखा शर्माको छ। रेखा समानुपातिकतर्फकी निवर्तमान सांसदसमेत हुन्। 

२०७० सालको संविधान सभामा पनि उनी समानुपातिक  सभासद बनेकी थिइन्। २०७२ सालमा केपी ओली नेतृत्वको पहिलो सरकारमा रेखा सामान्य प्रशासनमन्त्री बनिन्। माओवादी केन्द्रले समानुपातिकतर्फ नाम नदोहोर्याउने निर्णय गरेको छ। 

दुईपटक समानुपातिक सांसद भएकी रेखा यसपटक फेरि समानुपातिक सूचीमा पर्दिनन्। त्यसैले उनी दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार बनेर शंकर पोखरेलको प्रतिस्पर्धी बन्ने सम्भावना छ। 

यता माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्यले अहिलेसम्म सांसद बन्ने अवसर पाएका छैनन्। यसैले यसपटक आचार्यलाई पार्टीले अवसर दिन पनि सक्ने सम्भावना छ। 

एमाले दाङ जिल्ला अध्यक्ष सुवास पुनले पहिले जितेको दाङ २ सत्ता गठबन्धनभित्रको भागबन्डामा माओवादी केन्द्रले नै पाउने बताए। 

‘महरा समानुपातिकतर्फ गएपछि उहाँहरू २ जनामध्येबाट एक जना हुनुुहोला। को हुन्छ भन्ने कुरा पार्टीले निर्णय गर्ला।’ 

उनले भने, ‘यो क्षेत्र गठबन्धनमा माओवादी केन्द्रले नै पाउँछ।’ 

किन प्रत्यक्ष लड्न आँट गरेनन् महराले? 
महरा २०४८ सालदेखि चुनाव लड्न थालेका हुन्। २०४८ सालमा रोल्पाबाट उनले चुनाव जितेका थिए। सशस्त्र द्वन्द्वका बेला २०५१ र ०५६ का चुनावमा नलडे पनि २०६३ सालमा महरा अन्तरिम व्यवस्थापिकामा सांसद भएका थिए। 

उनले २०६४ को संविधान सभा चुनाव दाङबाट जितेका थिए। २०७० मा रोल्पाबाट चुनाव जितेर सभासद भएका महरा २०७४ सालमा दाङबाट सांसद भएका थिए। सांसद मात्र होइन, उनी पटकपटक मन्त्री पनि भए। यस्तै उनी उपप्रधानमन्त्री र सभामुख पनि भइसकेका छन्।

यसपटक भने महराले प्रत्यक्ष चुनाव लड्ने आँट गरेनन्। आफूलाई समानुपातिक सूचीमा राखेपछि उनले आफूलाई धेरै ठाउँबाट सिफारिसका लागि प्रस्ताव आएको तर सबैका नेता हुन प्रत्यक्ष लड्न नचाहेको दाबी गरेका छन्। 

कतिपयले महराले प्रत्यक्ष चुनाव नलडेर शंकर पोखरेललाई सजिलो बनाइदिएको भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्। 

गत संसदीय कार्यकालको सुरुवातमा कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुख थिए। तर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहले यौन दुव्र्यवहारको अभियोग लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्यो। केही समय हिरासतमा समेत बस्नुपर्यो। तर यो मुद्दामा महराले अदालतबाट सफाइ पाए। चुनावका बेला यही विषय उछालिन सक्छ भनेर महराले प्रत्यक्ष चुनाव लड्न आँट नगरेको अनुमान धेरैले गरेका छन्। 

महरा नहुँदा पोखरेललाई कति सहज?  
कृष्णबहादुर महरा प्रत्यक्ष चुनाव लड्ने भएको भए शंकर पोखरेलसँग प्रतिस्पर्धा हुने थियो। पोखरेलको प्रतिस्पर्धी बनेका भए एमाले कार्यकर्ताहरूले रोशनी काण्डलाई चुनावी मसला बनाउन सक्थे। 

अर्कातर्फ पटकपटक चुनाव जितिरहेका महरा माओवादीभित्र प्रभावशाली नै मानिन्छन्। महराजस्तो ‘हेभिवेट’ उम्मेदवार नहुँदा पोखरेलका लागि केही सहज पनि हुन सक्छ। 

२०७४ सालमा दाङ क्षेत्र नम्बर २ मा एमालेको समर्थनमा कृष्णबहादुर महरा ४० हजार ४२ मत पाएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत ल्याएका थिए।

यो क्षेत्रमा घोराही उपमहानगरको वडा नम्बर ४, अनि ६ देखि १९ सम्मका वडा, तुलसीपुर उपमहानगरका १६ देखि १९ सम्मका वडा र बंगालाचुली गाउँपालिका पर्छन्। 

घोराहीका १५ वटा वडामध्ये नौवटामा वडाध्यक्ष पद एमालेले जितेको छ। पाँचवटामा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएका छन्। 

यस्तै तुलसीपुरका चारवटा वडामध्ये दुईवटामा एमाले एउटामा कांग्रेस र एउटा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पद जितेका छन्।

बंगलाचुलीका आठवटा वडामध्ये एमालेले कुनै वडामा जितेको छैन भने कांग्रेस र माओवादी केन्द्रले चार/चारवटा वडामा वडाध्यक्ष पद हात पारेका छन्।

यो क्षेत्रमा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा ३३ हजार ५९३ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवारहरूले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरूले १० हजार ४७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरूले २ हजार ९४२ मत पाएका छन्। 

वडाध्यक्षहरूले पाएको मत हेर्दा दाङ क्षेत्र नम्बर २ मा एमाले बलियो देखिन्छ। कांग्रेस र माओवादी केन्द्रको मत मिलाउँदा पनि एमाले एक्लैको लगभग हाराहारी देखिन्छ।

प्रतिक्रिया दिनुहोस