मोबाइलको ब्याकग्राउन्डमा यसरी सुन्नुहोस् युट्युवका भिडिओ

खबरशाला स‌वाददाता  |  कार्तिक २२, २०७८

काठमाडौं । भिडिओ तथा अडियो सामग्रीका लागि युट्युव निकै प्रचलित छ । धेरैजसो प्रयोगकर्ताले यसका लागि युट्युवकै मोबाइल एप प्रयोग गर्छन् ।

तर युट्युव एपमा ब्याकग्राउन्ड अथवा स्क्रिन अफ हुँदा बजिरहेको भिडिओ तथा अडियो पनि रोकिन्छ । यस्तोमा केही प्रयोगकर्ताले थर्डपार्टी एपको सहारा लिइरहेका हुन्छन् । युट्युवमा आउने विज्ञापनको झन्झट त छँदैछ ।

तर यदि तपाईं युट्युवमा गीत सुन्न पारखी हुनुहुन्छ र ब्याकग्राउन्डमा  विज्ञापन बिनै युट्युवको आनन्द लिन चाहनुहुन्छ भने आज हामी तपाईंलाई सजिलो उपाय बताउँदै छौँ । त्यसो त ब्याकग्राउन्डमा युट्युव चलाउन गुगल क्रोम ब्राउजरमा रहेको डेस्कटप मोडको सहारा पनि लिन सकिन्छ । तर एउटा मोडबाट अर्को मोडमा गइरहने झन्झट र विज्ञापनको झमेलाले यो त्यति व्यवहारिक विकल्प होइन । 

विज्ञापन बिना ब्याकग्राउन्डमा युट्युव सुन्ने कसरी ? 

ब्रेभ पछिल्लो समय निकै रुचाइएको वेब ब्राउजर हो । अनलाइन विज्ञापन रोक्ने मात्र होइन, यो कुकिज र अनेक किसिमका ट्र्याकरलाई ब्लक गरी प्रयोगकर्ताको गोपनीयता कायम राख्ने कुराका लागि निकै परिचित छ ।

यो वेब ब्राउजरमा युट्युव खोल्दा डिफल्ट रूपमै त्यसमा आउने विज्ञापन ब्लक हुने गर्छन् । साथै कुकिज तथा ट्र्याकरलाई समेत यसले त्यसैगरी ब्लक गर्दछ ।

साथै यसको मोबाइल एपमा युट्युव तथा अन्य वेबसाइटका भिडिओ ब्याकग्राउन्डमा प्ले गर्न सकिने नयाँ फिचर समेत थपिएको छ । तर यो फिचर डिफल्ट रूपमा भने प्रयोग गर्न पाइँदैन  ।

यसका लागि आफ्नो मोबाइलमा ब्रेभ ब्राउजर राखिसकेपछि (यो ब्राउजर एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ) त्यसलाई खोल्नुहोस् । अब ब्राउजरको तल दायाँ कुनामा रहेको तीन थोप्ला भएको बटनमा थिच्नुहोस् र त्यसभित्र रहेको सेटिङमा प्रवेश गर्नुहोस् ।

त्यहाँ केही तल स्क्रोल गर्नुहोस् र ‘ब्याकग्राउन्ड भिडिओ प्लेब्याक’ अगाडिको टोगल (बटन) अन गर्नुहोस् । यति गरिसकेपछि तपाईंले ब्रेभ ब्राउजरमा युट्युव लगायतका भिडिओ प्ले गर्दा उक्त सामग्री ब्याकग्राउन्डमा समेत चलिरहन्छ ।

यसरी ब्याकग्राउन्डमा बजिरहेको म्युजिक तथा अडियो/भिडिओ मोबाइलको नोटिफिकेसन बारमा गएर फरवार्ड, ब्याकवार्ड र प्ले तथा पज गर्नुका साथै सोझै ब्राउजरमा पहुँच बनाउन पनि सकिन्छ  ।

प्रतिक्रिया दिनुहोस