वृक्षारोपणका लागि मेट्रो कलेजमा स्मृति अभियान

असार १४, २०७८


तुलसीपुर । वृक्षारोपणलाई अभियानका रुपमा लैजानका लागि तुलसीपुरमा स्मृति वृक्षारोपण अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर यस्तो अभियानको सुरुवात गरिएको हो । तुलसीपुरमा रहेको मेट्रो कलेजले आफन्तको सम्झनामा रु १ हजार सहयोग गरेर वृक्ष लगाउन सक्नेछन् । कलेज प्राङ्गणमा करिब २ सय विरुवा लगाउने तयारी गरिएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । उनले वृक्षारोपण गर्नका लागि कलेजमा सम्पर्क गर्न समेत अनुरोध गरे ।


यसैबीच अभियानको नगरप्रमुख घनश्याम पाण्डेले वृक्षारोपण गरेर सुरुवात गरेका छन् । आफ्ना स्वर्गीय बुबाको सम्झनामा स्मृति वृक्ष रोपेर उनले अभियानको सुरुवात गरेका हुन । अभियानको सुरुवात गर्दै उनले भोलिका सन्ततीका लागि पनि वृक्षारोपण गर्नुपर्ने वताए । हरेक मानिसले घरमा विरुवा लगाउनुपर्ने वताउँदै उनले स्वच्छ हावाका लागि विरुवाको महत्व हुने कुरामा जोड दिए । ‘आज मेट्रो कलेजले अभियानको सुरुवात गरेका छ अव हरेक संस्थाले यो अभियानलाई निरन्तरता दिनुपर्दछ’ नगरप्रमुख पाण्डेले भने ।


कार्यक्रममा क्लिन तुलसीपुर ग्रिन तुलसीपुरमा अभियन्ता विमल रिजालले मानव स्वास्थ्यका लागि वृक्षारोपणको महत्व अहम् हुने कुरामा जोड दिए । उनले स्मृति वृक्षारोपण अभियान सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर उपमहानगरपालिकाका वन अधिकृत ओमकान्त भट्टराई लगायतले अभियानको सफलताको शुभकामना दिएका थिए ।


अभियानका क्रममा नगरप्रमुख पाण्डे, विमल रिजाल, रामप्रसाद चालिसे, श्याम डाँगी, मानवहादुर केसी, धर्म वली, डा. नरेश डाँगी, आपेन्द्र वस्नेत, शरद रेग्मी, गोकर्ण पौडेल लगायतले विभिन्न आफन्तको सम्झनामा वृक्षारोपण गरेका थिए ।


कलेज सञ्चालक समिति सदस्य सुर्यबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कलेज प्रमुख वसन्त आचार्यले राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रशासकीय सहायक तिला ढकालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस