सीप पनि, व्यवसायका लागि उपकरण पनि

खबरशाला संवाददाता  |  असार १२, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले युवाहरुलाई उद्यमशिल तालिमसँगै उद्यमशिल वनाउनका लागि उपकरण सहयोग गरिने वताएका छन् ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा तुलसीपुर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको छोटो अवधिको मोटरसाईकल मर्मत र प्लम्बिङ्ग तालिमको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले युवालाई स्वरोजगार वनाउनका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको वताए । “हामीले केही गर्न चाहने युवाहरुलाई सीप पनि सिकाउँछौ र सीप सिकेकालाई व्यवसाय सञ्चालनका लागि उपकरण पनि प्रदान गर्छाै” उनले भने ।


विभिन्न कारणले रोजगार गुमाएका युवाहरुको तथ्यांक संकलनका साथै उनीहरुलाई स्वरोजगार वनाउनका लागि आवश्य सीपमुलक तालिमल प्रदान गर्नका लागि आगामी वर्षका लागि कार्यक्रम ल्याइएको पनि उनले वताए । “जाँगर चलाउनेहरु भोकै बस्नुपर्ने अवस्थाको सृजना हुन दिदैनौ” नगरप्रमुख पाण्डेले भने ।


कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख माया शर्माले व्यवसाय सञ्चालन गरेको युवाहरुलाई व्यवसाय प्रवद्र्धनका लागि पनि उपमहानगरपालिकाले सहयोग गर्ने वताईन । “तपाईहरुको हरेक समस्यामा हामी साथमा छौ,सफल उद्यमी वनाउनका लागि हाम्रो तर्फबाट सधै साथ हुनेछ ” उनले बताईन ।


मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका विज्ञ विनोद शर्माले लुम्बिनी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार बनाउनका लागि कार्यक्रम सञ्चालन गरेको वताउँदै तुलसीपुरमा नमुना कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।


सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीले सीप सिकेकाहरुलाई रोजगार प्रदान गर्नका कार्यक्रम सफल भएको बताए ।


कार्यक्रमका सहजकर्ता श्रीधर राजभण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता कलेज प्रमुख वसन्त आचार्यले गरेका थिए भने सञ्चालन प्रशासन सहायक तिला ढकालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस