बाटो पछि बनाए हुन्छ अहिले अस्पताल बनाउँ : प्रदेश मन्त्री श्रेष्ठ

खबरशाला संवाददाता  |  जेठ ०, २०७८


तुलसीपुर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले सरकारको अहिलेको ध्यान कोरोना नियन्त्रणमा रहेको वताएका छन् । उनले कोरोना नियन्त्रणका लागि प्रदेशभरका अस्पतालको स्तरोन्नती गरिरहेको पनि बताए ।


अक्सिजनको अभाव नहोस् भन्नका लागि प्रदेश सरकारले सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अगाडी वढाइसकेको पनि वताए ।


रिपोर्टस् क्लव तुलसीपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले लकडाउनका कारण खान नपुग्नेहरुलाई प्रदेश र स्थानीय सरकारले जिम्मा लिने वताए । लकडाउनको पूर्ण पालनाले मात्रै कोरोना नियन्त्रण हुन सक्ने उनको भनाई थियो ।


तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो अस्पतालले स्थानीय तहमै पहलकदमी लिएर कोरोना नियन्त्रणमा काम गरेको भन्दै उनले प्रशंसा समेत गरे ।


अस्पताललाई वलियो वनाउनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताउँदै बरन्डामा वसेर उपचार गर्नुपर्ने वाध्यता अब नआउने उनको भनाई थियो ।


चिकित्सकहरुलाई सुरक्षाको अनुभुति दिलाउनका लागि प्रदेश सरकारले मातहतका निकायलाई जिम्मा दिइसकेको पनि उनको भनाई थियो ।
सरकारी अस्पतालले मात्रै संक्रमित विरामीलाई थेग्न नसक्ने भएकाले निजी अस्पतालहरुलाई पनि परिचालन गरिने उनले वताए ।


अहिलेको समय कोरोना नियन्त्रणका लागि सबै प्रतिवद्ध भएर लाग्नुपर्ने समय भएको भन्दै उनले स्थानीय सरकारहरुलाई अहिले विकास निर्माणमा भन्दा पनि जनताको ज्यान जोगाउनका लागि केन्द्रीत हुन सुझाव समेत दिए ।

क्लबका अध्यक्ष शरद रेग्मीकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे भने सहजिकरण सन्ताेष केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस