विना काम बाहिर निस्किए , २ सय जरिवाना

खबरशाला संवाददाता  |  जेठ ०, २०७८

काठमाडौं । सरकारले निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ ।

नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई शनिबार गृह मन्त्रालयमा बोलाएर गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।

साथै, सचिवको निर्देशनपछि मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै हालतमा पनि सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिइएको छ ।

गृहप्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको समीक्षा गर्दै थप प्रभावकारी बनाउन निर्देशन दिइएको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मन्त्रालयले यसैसाता जारी कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन आएको बताए ।

अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्न जारी निषेधाज्ञालाई कडा बनाउने सीडीओ पराजुलीको भनाई छ । मास्कको प्रयोग, होल्डिङ र कसूरको व्यवस्थालाई कार्यान्वयन गरेर अध्यादेशलाई अघि बढाउन मन्त्रालयको निर्देशन आएको उनले बताए ।

निर्देशनअनुसार नै काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडा बनाउने काठमाडौं जिल्ला प्रशासनको योजना छ । राष्ट्रपति कार्यालयले विहिबार कोभिड–१९ संकट व्यवस्थापन गर्न अध्यादेश ल्याएको छ जहाँ स्वास्थ्य आपतकालदेखि युनिफाइड अस्पताल स्थापनासम्मका प्रावधान समेटिएको छ ।

साथै, सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने भनिएको छ । अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कार्वाही गर्नसक्ने व्यवस्था पनि छ ।

यस्तो अवस्था दुईपांगे्रलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । काठमाडौं उपत्यकास्थित तीनैवटा प्रमुख जिल्ला अधिकारीले केही दिनमा बसेर निषेधाज्ञाको समीक्षा गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस