अब नेपालमै ‘रेम्डिसिभिर’ उत्पादन हुने

खबरशाला संवाददाता  |  जेठ ०५, २०७८

तुलसीपुर । कोरोना संक्रमितको औषधिको रूपमा प्रयोेग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ अब नेपालमा नै उत्पादन हुने भएको छ।

नेपाल औषिधि उत्पादक संघका महासचिव विप्लब अधिकारीका अनुसार एक महिनाभित्र स्वदेशमा नै उत्पादन थालिने छ।

‘नेपालमा ‘रेम्डिसिभिर’को परीक्षण पास भइसकेको छ। अबको एक महिनाभित्र उत्पादन गर्न सुरू गछौं,’ अधिकारीले हेल्थपोस्टसँग भने।
अधिकारीका अनुसार नेपाली औषधि उत्पादक कम्पनीले ‘रेम्डिसिभिर’को उत्पादन गर्नेछन्।

अन्यदेशको भन्दा कम मूल्यमा उत्पादन गर्ने तयारी भएको अधिकारीले बताए।

‘हामीले पलिलादेखि नै भन्दै आएका थियौ, ‘रेम्डिसिभिर’ उत्पादन गछौं,’ अधिकारीले भने, ‘ अन्तराष्ट्रिय बजारको मूल्यको हिसाबमा हामी दिन सक्छौं।’

नेपालमै ‘रेम्डिसिभिर उत्पादन हुने भएपछि कोरोना संक्रमितको उपचारमा सहज हुने विश्वास गरिएको छ।

यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो।

वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ।

अस्पतालमा भर्ना भएका संक्रमितका लागि भने चिकित्सकको सिफारिसमा आयातकर्ता कम्पनी आयान हेल्थकेयर कुपण्डोलबाट रेम्डिसिभिर बिक्री गर्ने व्यवस्था मिलाइएको छ।

अन्य देशबाट ल्याइएको ‘रेम्डिसिभिर’ सरकारले ४ हजार ९ सयमा वितरण गर्न निर्देशन दिएको छ।

‘औषधिमा हामी आफैं आत्मनिर्भर हुन जरूरी छ। त्यसकारण नै नयाँ प्रविधिका समानहरू बनाउन लागिपरेका छौं। यसका लागि औषधि व्यवस्था विभागसँग राम्रो सहकार्य छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस