दाङमा किन भईरहेकाे छ अक्सिजन अभाव ?

खबरशाला संवाददाता  |  जेठ ०५, २०७८

तुलसीपुर । दाङमा कोरोना उपचारका लागि अहिले चारवटा प्रमुख अस्पताल तोकिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर, कोरोना विशेष अस्पताल बेलझुन्डी अनि लमही अस्पताल। भर्खरैमात्र तुलसीपुर उपमहानगर पालिकाले आफ्नै लगानीमा मेट्रो अस्पताल पनि सञ्चालनमा ल्याएको छ। यहाँ पनि संक्रमितको उपचार सुरु भइसकेको छ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार दाङमा अहिले करिब ३५० संक्रमित अस्पताल भर्ना भएका छन्।

भर्ना भएका सबैजसो बिरामीलाई अक्सिजनको जरुरी परिरहेको हुन्छ। होम आइसोलेसनमा पनि संक्रमितहरू छन्।

यो हिसावमा दाङका लागि अहिले करिब ७ सय सिलिन्डर एकदमै तयारी अवस्थामा चाहिन्छ। तर अहिले जिल्लाभरि करिब ५ सिलिन्डरमात्रै घुमिरहेका छन्। यो जिल्ला प्रशासन कार्यालयसँग भएको मात्रै रेकर्ड हो।

दाङमा अक्सिजनका सिलिन्डर आपूर्ति गर्दै आएका तथा दाङमै प्लान्ट चलाइरहेका व्यवसायी भरत पौडेलका अनुसार दाङमा पहिलै २३ सयदेखि २५ समयसम्म सिलिन्डर थिए।

यो बीचमा विभिन्ठ ठाउँबाट झन्डै सयभन्दा धेरै सिलिन्डर भित्रिएका छन्। विभिन्न उद्योग, कलकारखाना अनि घरघरमा राखिएका सिलिन्डर प्रशासनले नियन्त्रणमा लिएर उद्योगमा बुझाएको छ।

‘तर ती सिलिन्डर अहिले कहाँ छन् त्यो कसैलाई थाहा छैन। जसले जहाँ पायो त्यहीँ सिलिन्डर भर्न पठाएको छ’ पौडेल भन्छन् ‘जसले जे काम गर्छ त्यहाँ समस्या आयो भने कसरी समाधान गर्ने कुरा पनि उसैलाई थाहा हुन्छ। अहिले हामीलाई थाहै छैन, सबैले आफ्नै हिसावले गरिरहेका छन्। कसले कहाँ सिलिन्डर पठाउँछ भन्ने कुराको कसैले केही जानकारी नै राख्दैन।’

पहिला बजारमा छरिएका सिलिन्डरहरू खोसेर प्रहरी प्रशासनले नै राखेको छ। भएका सिलिन्डरहरू उद्योगमा भर्नका लागि लाइनमै लागेका छन्।

दाङमा उनले चलाएको एउटा प्लान्टले एक सय सिलिन्डरसम्म भर्न सक्छ। बाँकी नेपालगन्ज र बुटवल पठाउनुपर्ने हुन्छ।

तर त्यहाँ पनि एकीकृत रुपमा जाँदैन। अहिले ‘सेवा’का नाममा चलिरहेका अभियान अनि त्यो अभियान चलाइरहेका संघसंस्थाले आआफ्नै किसिमले सिलिन्डरहरू प्रयोग गरिरहेका छन्।

‘कसैले २० वटा सिलिन्डर जम्मा गरेको छ भने उसले २० वटामात्रै राखेर गाडी बाहिर पठाउँदा त समस्या हुन्छ नि। कम्तीमा सबै एकै ठाउँमा जम्मा गरेर एकपटकमा कतिसम्म पठाउन सकिन्छ भनेर सबै व्यवस्था गरेर भर्न पठाउँदा सजिलो हुन्छ’ उनले भने ‘यसरी सबैले आआफ्नै तालले काम गर्दा अक्सिजनको हाहाकार भएको हो।’

अहिले दाङबाट सिलिन्डर भर्नका लागि नेपालगन्जको उद्योगमा एउटै गाडी तीन दिनसम्म कुर्नुपरिरहेको छ। त्यहाँमात्रै होइन सिलिन्डर भर्नका लागि सुनसरीसम्म पठाइएको छ। दाङबाट त्यहाँ जान–आउनमात्रै कम्तीमा ४ दिन लाग्छ। त्यो पनि त्यहाँ भर्नका लागि पालो कुर्नुपर्छ।

‘अक्सिजन चाहिएको बिरामीलाई हामीले छ–सात दिनसम्म कुराउन मिल्छ?’ उनले भने ‘यहाँ कसैले कसैको कुरा सुन्दैन। सबैले आआफ्नो तरिकाले काम गरिरहेका छन्।’

अरु जिल्लाजस्तै दाङमा पनि धेरै संक्रमित घरमै बसिरहेका छन्। घरमा बसिरहेका संक्रमित अक्सर सामान्य अवस्थामै हुन्छन्।

‘घरमै बसिरहेका संक्रमितहरूका लागि पनि सोर्स फोर्स लगाएर धेरैले सिलिन्डर होल्ड गरिराखेका छन्’ अक्सिजन संकलनमा लागेका दाङका एकजना अभियन्ता भन्छन् ‘त्यसरी होल्ड भयो भने त अस्पतालमा रोटेसन बिग्रिन्छ अनि अक्सिजनको अभाव हुन्छ। खासमा भएको यही हो। एकद्वार प्रणाली नै छैन।’

सक्दो व्यवस्थापन गरिरहेका छौं :प्रमुख जिल्ला अधिकारी

प्रमुख जिल्ला अधिकारी पौडेल भने अक्सिजनको वितरण र व्यवस्थापन एकद्वार नै भएको दाबी गर्छन्। उनका अनुसार अहिलेको मुख्य समस्या भनेको सिलिन्डर भर्ने नै हो। र अर्को कुरा सिलिन्डरको कमी पनि हो।

‘अस्पतालमा बिरामीको संख्याको आधारमा भन्ने हो भने अहिले जिल्लामा ७ सयभन्दा धेरै सिलिन्डर भयो भनेमात्रै रोटेसन मिल्छ र अभाव अलि कम हुन्छ’ उनले भने ‘एक त यहाँ भर्न समस्या छ। सिलिन्डर भर्न बाँके गएका गाडी तीन दिन लाइन बस्नुपर्छ। सुनसरी गएका गाडी पनि तीन दिनदेखि लाइन बसिरहेका छन्। यता अक्सिजन पुगेको छैन। र हामीसँग सिलिन्डर पनि कम छन्।’

यो बिचमा विभिन्न माध्यमबाट दाङ भित्रिएका अनि प्रहरीले नियन्त्रणमा लिएर केही सिलिन्डर जम्मा भएपनि भर्नका लागि समस्या भएको उनले बताए।

‘तर पनि हामीले सक्दो प्रयास गरिरहेका छौं। वितरण र व्यवस्थापन एकद्वारबाटै भएको छ’ उनले भने ‘सकेजति प्रयास सबैतिर भइरहेको छ। केही दिनमै अभाव पनि अलि कम होला।’

प्रतिक्रिया दिनुहोस