सिडिओ साप ! मेरी आमा दमको रोगी हुनुहुन्छ , म कहाँ जाउँ अक्सिजन लिन ?

खबरशाला संवाददाता  |  जेठ ०२, २०७८  |  १६० पटक पढिएको

यो जटिल परिस्थितिमा हामी सबैले तपाईलाई सघाउनुपर्दछ । हो, कोभिड अस्पताललाई प्राथमिकतामा राखिनुपर्दछ । तर अस्पताल बाहिरका बिरामीहरु केही होइनन् भन्ने तपाईको कार्यशैलीबाट देखिन्छ यसलाई सक्नुहुन्छ भने बदल्नुस् । मेरी आमा जस्ताले रहरका लागि हाेईन जीवन रक्षाकै लागि हाे अक्सिजन लगाउँने ।

श्री दीर्घनारायण पौडेलज्यू,
प्रमुख जिल्ला अधिकारी , दाङ्ग ।

सिडियो साप , कोभिड नियन्त्रणका सन्दर्भमा तपाईको अहोरात्र खटाईको म प्रशंसक हुँ । तपाईको यस्तै खटाई निरन्तर भइरहनेछ भन्ने एउटा सामान्य नागरिकको हैसियतले मैले अपेक्षा पनि गरेको छुँ ।

तर कहिलेकाही व्यवस्थापन नमिल्दा जतिसुकै खटेपनि त्यसको उचित प्रतिफल नआउन सक्छ । यसबारेमा तपाईलाई मेरो सानो भोगाई पेश गर्न चाहन्छु ।


मेरो आमा अहिले ७६ वर्ष पुग्दै हुनुहुन्छ । लामो समयदेखि उहाँ दमको रोगले थलिनुभएका कारण नियमितरुपमा अक्सिजन लिइरहनु भएको छ । १० दिन जतिमा एउटा अक्सिजन सिलिन्डर सकिने गरेको छ ।

विगत ३ वर्षदेखि यो क्रम चलिरहेको छ । पछिल्लो समय कोभिडका कारण अक्सिजनको अभाव चरमरुपमा भइरहेको छ । कोभिडका विरामीहरुले अक्सिजन नपाएर ज्यान समेत गुमाइरहेका छन् ।


अक्सिजन सिलिन्डरको अभाव हुने थाहा पाएर पनि महामारीमा मलाई स्टक गर्न मनले मानेन र र मैले त्यो गरिन पनि । अहिले मसँग २ वटा सिलिन्डर छ एउटा आमाालाई लगाएको छ एउटा खाली भर्नुपर्ने छ । तर विडम्वना विगत ७ दिनदेखि मैले सिलिन्डर भर्ने निकै प्रयास गर्दा पनि सकेको छैन । जहाँ जाँदा पनि कोभिडको बिरामी बाहेक अरुलाई हुँदैन भन्छन् ।


अवस्था यतिसम्म जटिल छ की ३ दिनभित्र मैले नयाँ सिलिन्डर भर्न सकिन भने आमालाई कसरी वचाउने निकै सकसमा छुँ । मलाई थाहा छ मैले ३ दिन पछिको कुरा गरे यहाँ मान्छे आधाघण्टाका लागि अक्सिजन चाहिने पनि छन् । तर उनीहरुलाई आउँला भन्ने आश छ तर हामीलाई केही पनि छैन । तपाईको नजरमा हामी पिडित नै हुन सकेका छैनौ ।

यो समयमा कोभिडका विरामीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ, यसमा म सहमत छुँ तर के कोभिड नलागेर अक्सिजन चाहिने विरामीलाई बाँच्ने अधिकार छैन ।


सिडियो साप, कोभिड अस्पताल बाहेक अरुलाई अक्सिजन नदिनु भनेको अक्सिजन प्लान्टमा गएर हेर्नुस् त मान्छेको क्रन्दन कस्तो छ ? एउटा समस्या मात्रै हेर्दा अर्को थप जटिल वन्न नसकोस् भनेर यहाँले ध्यान दिनुभएको देखिएन ।


म तुलसीपुरको बासिन्दा भएकाले यहाँ अक्सिजनको व्यवस्थापनका लागि खटिनुभएका पदम पोख्रेलसँग कुरा गरे उहाँले केही गर्न नसकिने वताउँनु भयो । हिजो त स्टाटस नै लेख्नुभयो कोरोनाको लक्षण भएका तर रिपोर्ट आउन ढिला भएकाहरुलाई अक्सिजनको व्यवस्थापन गर्न नसक्दा डरलाग्दो अवस्था आएको छ भनेर ।

सिडियो साप, प्रत्येक अस्पताल बाहिर हेर्नुस् त कोभिडको लक्षण भएर रिपोर्ट आउन बाँकी र कोभिड भएर पनि अस्पतालमा ठाउँ नपाएकाहरु अक्सिजन खोज्दै कति भौतारिरहेका छन् ।

अहिले कोभिडका कारण ज्यान गुमाउँनेमा अस्पतालमा ठाउँ नभएका कारण घरमै बसेर अक्सिजन लिइरहेका विरामीहरु ठूलो संख्यामा छन् भन्ने कुरा यहाँलाई जानकारी छैन भने एकपटक वुझ्ने चेष्टा गर्नुहोला ।


यो जटिल परिस्थितिमा हामी सबैले तपाईलाई सघाउनुपर्दछ । हो, कोभिड अस्पताललाई प्राथमिकतामा राखिनुपर्दछ । तर अस्पताल बाहिरका बिरामीहरु केही होइनन् भन्ने तपाईको कार्यशैलीबाट देखिन्छ यसलाई सक्नुहुन्छ भने बदल्नुस् । मेरी आमा जस्ताले रहरका लागि हाेईन जीवन रक्षाकै लागि हाे अक्सिजन लगाउँने ।

माेहन घिमिरे तुलसीपुर

प्रतिक्रिया दिनुहोस