विवाद मिलाउन एमालेले बनायाे कार्यदल गठन, को-को परे ?

खबरशाला संवाददाता  |  बैशाख ३०, २०७८

तुलसीपुर । विवाद समाधानका लागि एमालेले नौ सदस्यीय कार्यदल गठन गरेकाे छ । पछि दुई जना सदस्य थप्ने गरी नौ सदस्यीय कार्यदल गठन गरिएको हाे ।

कार्यदलमा अध्यक्ष ओली समूहबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ सदस्य रहनेछन् । खनाल–नेपाल समूहबाट भने भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट चयन भएका छन् । दुई सदस्यपछि थप्ने सहमति भएको छ ।

यो कार्यदलले अध्यक्ष ओली र नेता नेपाल समूहको अडानका विषयमा सहमतिको मिलनविन्दु खोज्नेछ । चपली हाइटमा ४ घण्टाको छलफलपछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको नेता नेपालले बताए ।

‘पार्टीका विवाद कार्यदलमार्फत समाधान गर्ने सहमति भएको छ । बैठक सकारात्मक छ । राजीनामा दुई-चार दिनलाई स्थगित भएको छ,’ उनले भने । 

नेता नेपालले २७ वैशाखमा छबुँदे माग अघि सारेका थिए । नेता नेपालले सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी एमालेको विधान, नियमावली, आचारसंहिताअनुरूप ३ जेठ २०७५ मा पार्टी एकीकरण हुनुपूर्वको अर्थात् २ जेठको स्थितिमा पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने,  नवौँ राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २८ फागुन २०७७ मा गरिएका केन्द्रीय कमिटी विघटन गर्नेलगायतका निर्णय रद्द गर्नुका साथै त्यसका आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्नुपर्ने माग गरेका थिए ।

यस्तै, पार्टीलाई विधान र पद्धतिअनुरुप सञ्चालन गर्नुपर्ने उनको माग थियो । पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप-प्रत्यारोप एवं समस्याबारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्नुपर्ने, सरकार र पार्टीबीचमा समन्वय र सु-सम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकताअनुसार सञ्चालन गर्नुपर्ने सर्त नेता नेपालको पत्रमा उल्लेख थियो ।

यस्तै, उनले पार्टीलाई एकतावद्ध रूपमा अगाडि बढाउने, समयमै राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने माग प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस