एसईई र कक्षा १२ को परीक्षा स्थगित

खबरशाला संवाददाता  |  बैशाख २८, २०७८

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार अर्को सूचना जारी नहुँदासम्म एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।

एसईई १३ जेठदेखि सञ्चालन गर्ने तयारी थियो भने कक्षा १२ को परीक्षा २६ जेठबाट गर्ने तालिका तय भएको थियो ।

आइतबार बिहान बसेको बोर्ड बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकाले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो ।

गत वर्ष पनि कोरोना संक्रमणका कारण आन्तरिक मूल्यांकनबाटै एसईईको नतिजा प्रकाशित भएको थियो । तर, बोर्डले यो वर्ष भने यसबारे निर्णय लिएको छैन ।

यस पटक एसईई दिने विद्यार्थी ५ लाख बढी छन् । गत वर्ष कक्षा १२ को परीक्षा भने भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस