पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय

खबरशाला संवाददाता  |  बैशाख १, २०७८

नेकपा एमालेले संसदीय दलका नेता शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ । 

आइतबार बिहान बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको एमाले सचेतक भूमिश्वर ढकालले जानकारी दिए । 

यसअघि आइतबार बिहान पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बसेको संसदीय दलको बैठकले संविधानको १६८ (१) बमोजिम ठूलो दलको हैसियतमा बहुमतको सरकार बनाउने निष्कर्ष निकालेको हो ।

बैठकले संसदीय दलको विधामा पनि केही परिमार्जन गर्ने निर्णय गरेको छ । सचेतक ढकालले अब एमालेका ४१ बहुमत सांसदसहितको हस्ताक्षर सरकार गठनका लागि प्रदेश प्रमुखसामु राख्ने र प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बताए ।

उनले जनता समाजवादी पार्टीबाट यसअघि मन्त्री बनेका सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डे लम्साल, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी पनि एमालेको एकल सरकारमा सहभागी हुने बताए । एमालले बहुमत सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ यादवसामु पेस गरेपछि संविधानको धारा १६८ को उपधारा १ मा व्यवस्था भएअनुसार संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् । 

जनता समाजवादी पार्टीले चार र नेकपा माओवादी केन्द्र दुई जना सांसदलाई कारबाही गरेपछि हाल प्रदेशसभा ८१ सदस्यीय छ । प्रदेशसभामा एमालेका ४१, माओवादीका १७ (सभामुखबाहेक), कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस