सीप सिकाउँदै, आत्मनिर्भर बनाउँदै मेट्रो कलेज

खबरशाला संवाददाता  |  बैशाख ०४, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विभिन्न सीपमुलक तालिम सञ्चालन गरेर बेरोजगारहरुलाई स्वरोजगार वनाउँदै लगेको छ ।


विभिन्न संघसंस्थाको सहयोगमा कलेजमा अहिले २ दर्जन छोटो अवधिको तालिम सञ्चालन भइरहेको कलेज प्रमुख वसन्त आचार्यले वताए । प्रमुख आचार्यले कोभिडका कारण रोजगार गुमाएका मात्रै होइन उपयुक्त सीप नहुँदा बेरोजगार वस्न वाध्य सबै उमेर समुहकालाई तालिम प्रदान गरिएको वताए ।


‘हामीले कुन ठाउँमा कस्तो तालिमको आवश्यकता छ भन्ने बारेमा अध्ययनका साथै स्थानीय आवश्यकताको आधारमा तालिम सञ्चालन गरिरहेका छौ । ’ कलेज प्रमुख आचार्यले भने । कलेजले उपमहानगरपालिकाका सबै वडामा तालिम सञ्चालनका लागि कार्यक्रम अगाडी वढाएको समेत उनको भनाई रहेको छ ।

कलेजले अहिले वडा नम्बर १४ मा वाख्रापालन, तरकारी खेती, चप्पल निर्माण सम्बन्धि तालिम सञ्चालन गरिरहेको छ । कलेजका अनुसार वडा नम्बर ४ मा तरकारी खेती, होटल सम्वन्धि सीप,सिलाई कटाई र मौरीपालन सम्बन्धि तालिम सञ्चालन भइरहेको छ ।

त्यसैगरी वडा नम्बर ८ मा व्युटिपार्लर, वुटिक,ढकिया निर्माण र वडा नम्बर ३ मा थाकलका सामग्री निर्माण, लेडिज सेन्डिल निर्माण लगायतका तालिम सञ्चालन भइरहेका छन् ।
‘तालिम निकै प्रभावकारी ढँगले सञ्चालन भएको हुँदा स्थानीयहरुमा उत्साह वढेको छ ।’ वडा नम्बर १४ का वडाध्यक्ष पर्शुनारायण चौधरीले वताए ।


तालिम पश्चात सीकेको सीपलाई व्यवसायमा लगाउनका लागि कलेजले तालिम पश्चात आवश्यक सामग्री समेत हस्तान्तरण गर्ने गरेको छ । कलेज प्रमुख आचार्यका अनुसार यस अगाडी सञ्चालन भएका विभिन्न तालिमका सहभागीहरुले व्यवसाय समेत सञ्चालन गरिसकेका छन् ।

‘कपाल काट्ने सीप सिकेकाहरुले पसल समेत सञ्चालन गरिसकेका छन् ।’ कलेज प्रमुख आचार्यले वताए ।


स्थानीय सरकारको साझेदारीमा मुलुककै पहिलो कलेजका रुपमा सञ्चालनमा आएको कलेजले डिप्लोमा तहका विभिन्न ५ वटा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस