लुम्बिनी प्रदेशमा बजेट खर्च उत्साहजनक

खबरशाला संवाददाता  |  चैत २२, २०७७

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बजेटको ३६ दशमलव ४६ प्रतिशत खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्म आइपुग्दा जम्मा ३६ दशमलव ४६ प्रतिशत खर्च गरेको हो ।

त्यसमध्ये विकास बजेटतर्फको खर्च प्रतिशत ३३ दशमलव ३५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्म प्रदेश सरकारले २८ प्रतिशत बजेट खर्च गरेको थियो ।

प्रदेश सरकारले गरेको खर्च प्रतिशतलाई हेर्दा गतवर्ष भन्दा केही बढेको देखिए पनि सन्तोषजनक भने छैन । तर चालु आर्थिक वर्षमा गतवर्षभन्दा जनशक्ति व्यवस्थापन, बजेट परिचालन र खर्च गर्ने निकायको व्यवस्थापन हुँदै गएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ३५ करोड २६ लाख बजेट बिनियोजन गरेको थियो । जसमध्ये पूँजिगततर्फ १८ अर्ब ७२ करोड ३२ लाख ४८ हजार थियो भने चालुतर्फ १७ अर्ब ६२ करोड ९२ लाख ५२ हजार रुपैयाँ छुट्याएको थियो ।

आठ महिनामा भएको खर्च अनुसार चालुतर्फ ७ अर्ब १ करोड २४ लाख २१ हजार छ भने पूंजिगततर्फ ६ अर्ब २४ करोड ३३ लाख ९२ हजार रहेको छ ।

फागुन मसान्तसम्म प्रदेश सरकारले छुट्याएको कुल बजेटमा १३ अर्ब २५ करोड ५८ लाख मात्र खर्च भएको ज्ञवालीले जानकारी दिए ।

भौतिक मन्त्रालय अगाडि

ज्ञवालीका अनुसार सबैभन्दा धेरै १५ अर्ब १२ करोड ५३ लाख ४७ हजार बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ ५३ दशमलव ६९ प्रतिशत खर्च गर्दा पूँंजिगततर्फ भने जम्मा ३६ दशमलव ७१ प्रतिशत खर्च गरेको छ । ५ अर्ब ७५ करोड ६८ लाख ४४ हजार बजेट रहेको सामाजिक विकास मन्त्रालयको खर्च प्रतिशत पनि सन्तोषजनक छैन ।

चालु खर्चतर्फ ३४ दशमलव ४० प्रतिशत रहेको मन्त्रालयको पूँंजिगत खर्च भने २८ दशमलव ७६ प्रतिशत मात्रै रहेको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पनि पूँजिगततर्फको खर्च १८ दशमलव ९२ प्रतिशत मात्रै रहेको छ ।

त्यस्तै चालु वर्षमा २ अर्ब ९१ करोड ९६ लाख ६६ हजार बजेट पाएको पर्यटन, उद्योग वन वातावरण मन्त्रालयले पनि ८ महिनामा ४० प्रतिशत खर्च गरेको छ ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार किवास मन्त्री वैजनाथ चौधरीले कोरोना महामारीका बीचमा पनि गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा उल्लेख्य प्रगति भएकोले चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार बजेट कार्यान्वयन हुने दावी गरेका छन् ।

प्रदेश सरकारको खर्च प्रगति सन्तोषजनक नभएपनि आन्तरिक राजश्व संकलन भने सन्तोषजनक देखिएको छ । गत आर्थिक वर्षमा आन्तरिकतर्फ ३ अर्ब ४८ करोड ९१ लाख १२ हजार राजश्व संकलन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३ अर्ब ३० करोड ३८ लाख ८५ हजार १ सय ८९ रुपैयाँ संकलन गरेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिकतर्फ ३ अर्ब ८९ करोड ७७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । प्रदेश सरकारले स्थानीय तहबाट प्राप्त हुने राजश्वतर्फ भने लक्ष्यभन्दा अत्यन्त न्यून जम्मा ४ दशमलव २९ प्रतिशत मात्र संकलन गर्न सफल भएको छ ।

केन्द्रबाट हुने राजस्व बाँडफाँड, अनुदानको रकम, स्थानीय तहबाट प्राप्त हुने राजश्व र प्रदेश सरकारको आन्तरिक राजश्व गरी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३६ अर्ब ३५ करोड २५ लाख बजेट संकलन गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहोस