मेट्रो कलेजका विद्यार्थीसँग मुख्यमन्त्री पोख्रेलको एक घण्टा

खबरशाला संवाददाता  |  चैत २२, २०७७


तुलसीपुर । तुलसीपुर मेट्रो कलेज विएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी तिर्सना रोकायाले खर्च नभएको वजेट कहाँ जान्छ भनेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई प्रश्न गरिन् ।

उनले कानुन संकायमा भाषिक अवरोधको समस्या पनि उठाइन् ‘हामीले कानुन विषय पढेर नेपालीमा वकालत गर्नुपर्दछ तर किन अंग्रेजी भाषामा नै पढ्नुपर्दछ ?’ भाषाका कारणले पढ्न जटिल भएको उनको गुनासो थियो । उनको गुनासो सुनिसकेपछी मुख्यमन्त्री पोख्रेलले सिकाईमा भाषा वाधक नहुने वताए ।

उनले अँग्रेजी विश्वभाषा भएकाले त्यसमा नै अध्ययन गर्नुपर्ने वताए ।


अर्की विद्यार्थी श्रेया गौतमले अर्का प्रश्न थपिन् ‘ स्थानीय तहमा न्यायपालिका सरकारसँगै हुने भएकाले शक्ति संयोजन हुने खतरा हुदैन र ?’ मुख्यमन्त्री पोख्रेलले केन्द्र र प्रदेशमा जनताको प्रत्यक्ष पहुँच हुन नसक्ने भएको हुँदा न्यायपालिका फरक हुने तर स्थानीय तहमा जनताले प्रत्यक्ष पहुँच हुने भएकाले उनीहरुको खवरदारी हुने वताए ।

‘स्थानीय तहमा शक्ति पृथिकीकरण नभए पनि न्यायपालिका कमजोर हुँदैन’ मुख्यमन्त्री पोख्रेलले वताए ।


लुम्बिनी बौद्ध विश्वविद्यालय र तुलसीपुर उपमहानगरपालिकाको साझेदारीमा तुलसीपुर मेट्रो कलेजले सञ्चालन गरेको विएएलएलबी कार्यक्रमका विद्यार्थीहरुले मुख्यमन्त्री पोख्रेलसँग विकास, कानुन र राजनीति लगायतका विविध विषयमा विभिन्न प्रश्नहरु राखे ।

विद्यार्थी दिलसरा वलीले कानुन विषय अध्ययन गर्ने विद्यार्थी संख्याको तुलनामा कोटा कम हुने गरेको वताउँदै सबले पढ्न पाउने गरी कोटा व्यवस्थापन गर्नुपर्ने माग राखिन् । ‘कानुन पढ्ने मन र आँट हुँदा पनि केयौ साथीहरुले पढ्न पाएका छैनन यसको व्यवस्था गर्नुपर्दछ ’ उनले भनिन् ।

वलीले हरेक आर्थिक वर्षमा खर्च नहुने रकम के हुन्छ भनेर प्रतिप्रश्न समेत गरिन् । मुख्यमन्त्री पोखे्रलले बजेट दुई किसिमको हुने वताउँदै अन्य स्रोतवाट आएको वजेट समयमा खर्च नभए फ्रिज हुने वताउँदै आन्तरिक राजस्वबाट तयार गरिएको बजेटको पैसा खर्च नभए पनि केही नहुने वताए ।


विद्यार्थीहरुले भालुवाङ्गमा मुख्यमन्त्रीका रुपमा कहिले भेट्न सकिन्छ भन्ने बारेमा प्रश्न समेत गरेका थिए । करिब एक घण्टासम्म भएको कार्यक्रममा मुख्यमन्त्रीले विद्यार्थीहरुलाई कानुनी विषय निकै संवेदनशिल भएको समेत वताए ।

उनले कानुनका विद्यार्थीहरुले समाजमा न्याय स्थापित गर्न महत्वपूर्ण भुमिका खेल्न सक्ने समेत वताए । कानुनका विद्यार्थीमा तर्क गर्न सक्ने क्षमता हुने वताउँदै उनले हरेक विषयलाई फरक कोणबाट हेर्नुपर्नेमा जोड दिए । न्यायको प्रश्न उठ्ने ठाउँमा वकिलको खोजि हुने गरेको समेत उनले वताए ।


सो अवसरमा मेट्रो कलेज सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कानुनका विद्यार्थीहरुलाई सहज होस् भनेर स्थानीय सरकारले कलेज सञ्चालन गरेको समेत वताए ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य, प्रवक्ता श्याम डाँगी, प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतम र कलेज प्रमुख वसन्त आचार्य कानुन विषयका वारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस