स्वास्थ्य क्षेत्रमा तुलसीपुरमा अर्को फड्को, नगरपालिकाको सहयोगमा आइसियु भवन

खबरशाला संवाददाता  |  फागुन २, २०७७


तुलसीपुर । तुलसीपुरले स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मारेको छ । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा राप्ती प्रादेशिक अस्पतालमा आइसियु भवनको शिलन्यास गरिएको छ ।

आइसियु भवन निर्माणसँगै तुलसीपुरबाट विरामीहरुको रेफर हुने क्रमको अन्त्य हुने विश्वास गरिएको छ । आइसियु भवन नहुँदा सामान्य विरामीहरु समेत रेफर हुने गर्दथे ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शनिवार आइसियु भवनको शिलन्यास गरेका हुन् । यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी भवनको शिलन्यास गरिएका हो । भवनको शिलन्यास गर्दै मेयर पाण्डेले जनतालाई स्वास्थ्य सेवाको थप पहुँचमा लैजानका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको वताए ।

उनले प्रदेश सरकारसँगको सहकार्यमा थप स्वास्थ्य भवन निर्माणको तयारी भइरहेको वताए । स्वास्थ्य क्षेत्रलाई सधै प्राथमिकतामा राखेर काम गरेको उनको भनाई थियो ।

भवन शिलन्यास कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने, मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंह र वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र शाह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस