तुलसीपुरमा नारी दिवसमा नमुना काम , टाढा विद्यालय भएका छात्रालाई साईकल

फागुन २४, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ तुइखोलाकी अनिषा चौधरीलाई विद्यालय आउन र जान हरेक दिन ६ किलोमिटर हिड्नुपर्दछ । कक्षा ९ मा पढ्ने उनले विद्यालय आउन जानका लागि मात्रै पनि २ घण्टा भन्दा वढि छुट्याउनुपर्दछ ।

घरदेखि विद्यालय टाढा भएका कारण कहिलेकाही काम गर्दागर्दै ढिलो भयो भने उनी विद्यालय समेत जान पाइदिनन् । ‘धेरैपटक ढिला भएकाले विद्यालय छुटेको छ ’ उनले भनिन् । घरमा आर्थिक अवस्था कमजोर भएका कारण उनलाई साईकल किन्न पनि सहज दिएन ।


अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाले उनलाई साईकल दिएपछि भने उनको अनुहार उज्यालो भएको छ । ‘अव कहिल्यै पनि विद्यालय छाड्दिन, सधै जान्छु ’ । महिनावारी भएको बेलामा निकै सकस हुने वताउँदै साईकले सबै सजिलो वनाउने उनको अपेक्षा थियो ।


यस्तै अनुभव छ तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विपना चौधरीको पनि । कृषि विज्ञान पढ्ने विपनाको विद्यालय विहान मात्रै सञ्चालन हुन्छ । घरबाट विद्यालयसम्म जान उनलाई ४५ मिनेट जति लाग्छ । तर विहानै धेरै अँध्यारो हुने भएकाले परिवारको कुनै न कुनै सदस्य उनलाई विद्यालयसम्म छाड्नका लागि आँउनै पर्दछ । ‘साईकलमा त १५ मिनेटमै पुग्न सकिन्छ’ उनले खुसी व्यक्त गरिन् ।


अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ५४ जना छात्राहरुलाई साईकल प्रदान गरेको हो । विभिन्न संघसंस्था र व्यक्तिको समन्वय र सहयोगमा साईकल वितरण गरिएको नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले औपचारिक कार्यक्रम मात्रै गरेर कार्यक्रम मनाउनुभन्दा पनि वास्तविक दुखमा रहेका छात्राहरुलाई सहयोग गरेर कार्यक्रम मनाईएको वताए ।

आधाघन्टाभन्दा वढि हिड्नुपर्ने छात्राहरुलाई साईकल वितरण गरिएको पनि उनको भनाई थियो । ‘यस स्थानीय तहमा १६ सय छात्राहरु आधाघण्टा भन्दा वढि हिड्ने गर्दछन् पहिलो चरणमा २ सय छात्रालाई दिने योजना छ ’ नगरप्रमुख पाण्डेले भने । उनले उपमहानगरपालिकाले अभियान सञ्चालन गरेको वताउँदै यसलाई निरन्तरता दिनका लागि सामाजिक संघसंस्थालाई अनुरोध समेत गरे ।


कार्यक्रममा संयुक्त राष्ट्र संघीय कार्यक्रमका नेपाल प्रतिनिधि वर्नाडो कोकोले छोरी शिक्षालाई साईकल वितरण कार्यक्रमले प्राथमिकता दिएको वताए । साईकल वातावरण स्वच्छताका लागि पनि आवश्यक भएको वताउँदै कोकोले तुलसीपुरलाई साईकल सिटिका रुपमा विकास गर्नका लागि आफु र आफ्नो संस्था तयार रहेको बताए ।


कार्यक्रममा बोल्दै उपप्रमुख माया शर्माले तुलसीपुरले छोरीहरुलाई सशक्त वनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको वताइन् । उनले छोरीलाई सशक्त वनाउनका लागि शिक्षा अनिवार्य भएको वताइन् ।

प्रतिक्रिया दिनुहोस