तुलसीपुरमा ‘छोरीलाई साईकल ‘अभियान

फागुन १४, २०७७  |  ८७८ पटक पढिएको


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विद्यालय टाढा भएका छोरीहरुलाई छनोट गरेर साईकल वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उपमहानगरपालिकाले यस क्षेत्रका २ सय छोरीहरुलाई साईकल वितरण गर्न लागेको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत तुलसीपुरलाई साईकल सिटीका रुपमा विकास गर्नका लागि पनि यस्तो अभियान सञ्चालन गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।


‘हामीले छोरी शिक्षामा जोड दिनका लागि यस्तो अभियानका थालनी गरेका हौं’ नगरप्रमुख पाण्डेले भने । उनले साईकल स्वास्थ्यका लागि पनि लाभदायक भएको भन्दै धेरै साईकल चढ्नेलाई प्रोत्साहित गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।

‘हामीलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट मोबाईल एप्लिकेसन सहयोग भएको छ, कसले धेरै साईकल चढ्छ भन्ने कुरा एप्लिकेसनले थाहा दिन्छ’ नगरप्रमुख पाण्डेले भने । उनले एप्लिकेसन मार्फत सबैभन्दा धेरै साईकल चढ्नेलाई पुरस्कार दिने वताए ।


साईकल हुने खाने वर्ग र नहुने दुबैका लागि लाभदायक भएको भन्दै उनले वातावरण स्वच्छताका लागि पनि यो अभियानलाई अगाडी वढाउनुपर्नेमा जोड दिए । ‘निम्न वर्गका लागि यातायातको साधन हुनुका साथै हुनेखानेका लागि स्वस्थ रहने वलियो आधारकारुपमा साईकल रहेको छ ’ नगरप्रमुख पाण्डेले भने ।


उनले छोरीहरुलाई साईकल सहयोग गर्नका लागि आव्ह्वान समेत गरेका छन् । ‘छोरीहरुलाई सशक्त वनाउनका लागि सबैले सहयोग गर्नु आवश्यक छ ’ उनले भने । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई उक्त साईकल वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस