माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एशियामै पहिलो

फागुन १३, २०७७

काठमाडौं । सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो ।

नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो ।

दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताए । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको जनाए । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उनले भने ।

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनु पर्ने भनाई उनको थियो । ‘हामीसँग प्रशस्त खाद्यबाली छ । तर हामीलाई लामा सिता भएका पातलो चामल चाहिन्छ । खाने होइन ज्यूनार गरेजस्तो लाग्ने, भात होइन भूजा जस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो त्यही मोटो चामललाई पेलेर लामो, पातलो बनाइएको नक्कली चामल हो । कुनै धान देख्नुभएको छ १ इञ्च लामो ? त्यो सब धोका हो । पेलेर लामो बनाइएका हुन् । सब नक्कली हुन् ।’

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उनले प्रतिशतको तुलना अलि नमिलेको बताए । यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताए ।

सानो स्केलको उत्पादनले अब विकास नहुने भन्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलको उत्पादनमा जानुपर्ने धारणा राखे । उनले भने, ‘एक डोको भिण्डी, एक डोको करेला फलाएर बजार पाएन भन्नु बेकार हो । अब हामी ठूलो मात्राको उत्पादनमा जानुपर्छ । ठूलो मात्राको उत्पादन गर्नुस् सरकारले बजारको व्यवस्था गर्छ ।’

त्यस अवसरमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस