कानुनभन्दा बाहिर गएका छैनौ

खबरशाला संवाददाता  |  फागुन ०८, २०७७

 


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग कानुन अनुसार नै कर लिएको प्रष्टिकरण दिएको छ । उपमहानगरपालिकाको नगर सभाले पारित गरेको आर्थिक ऐनमा टेकेर नै राजस्व लिइएको नगरप्रमुख घनश्याम पाण्डेले पत्रकारहरुलाई जानकारी दिए ।

उपमहानगरपालिकाले गैरकानुनी ढँगले कर असुली गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यमबाट आएपछि पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । यस विषयमा शनिवार विहान वसेको कार्यपालिका बैठकले कर असुलीका बारेमा पत्रकार सम्मेलन मार्फत जनतालाई प्रष्ट गराउने निर्णय गरेको थियो ।


पत्रकारहरुलाई कर असुलीका बारेमा प्रष्ट पार्दे नगरप्रमुख पाण्डेले नियमित सिफारिस शुल्क मात्रै लिएको जानकारी दिए । एउटै सम्पत्तिको पनि फरक फरक प्रयोजनका लागि फरक फरक कर लगाउन सकिने वताउँदै उनले भुमिसंग सम्बन्धित कुनै पनि शुल्क नलिएको प्रष्ट पारे ।

‘हामीले सम्पत्ति मूल्यांकन र सिफारिस शुल्क मात्रै लिएका छौ, गैरकानुनी ढँगले कुनै पनि शुल्क लिने काम गरेका छैनौ’ पत्रकार सम्मेलनमा नगरप्रमुख पाण्डेले भने । उनले तत्कालका लागि अदालतले सिफारिस शुल्क नलिन आदेश गरेको भन्दै फाराम भर्ने काम भने नरोकिने वताए । ‘हामी जिम्मेवारीबाट पन्छदैनौ अदालतको आदेश पनि मान्छौ, फाराम भर्ने काम पनि अगाडी वढाउँछौ’

उनले थपे ‘मुल्यांकन शुल्कको सिफारिस कागजात थाति राखेर अरु काम अगाडी वढ्छ’ ।
तुलसीपुरले कुनै पनि काम कानुन अनुसार नै गरेको वताउँदै उनले दोहोर शुल्क नलिएको समेत पुष्टि गरे । ‘अन्य पालिकाले के गरे भन्दा पनि हामीले गरेको काम कानुनअनुरुप छ या छैन भन्ने कुरा महत्वपूर्ण हो ’ उनले भने ।

उपमहानगरपालिकाले प्रतिवद्धता अनुसार अव्यवस्थित बसोबासीलाई निर्धारित समयमै लालपुर्जा उपलब्ध गराउने कार्यमा प्रतिवद्ध रहेको समेत उनको भनाई थियो ।


विभिन्न पालिकाले आर्थिक ऐन नवनाएका कारण तत्कालका लागि शुल्क नलिएको पनि उनले वताए । आर्थिक ऐन वनाएका सबै पालिकाहरुले शुल्क लिएको समेत उनको भनाई छ । ‘यो निर्णय मेरो एकल होइन नगर सभाले नै पारित गरेको हो यसकारण हामीले मन लाग्दो तरिकाले सच्याउन मिल्दैन । ’


अदालतको निर्णयलाई सम्मान गर्ने वताउँदै कानुनमा टेकेर नै राजस्व लिएका कारण अदालतमा परेको रिटका विषयमा वहस गर्ने समेत उनले वताए ।


टोल विकास संस्थाले रकम लिन मिल्दैन

विभिन्न टोल विकास संस्थाले सिफारिस दिने नाममा अनेक खालका शुल्क लिन नमिल्ने पनि पत्रकार सम्मेलनमा नगरप्रमुख पाण्डेले जानकारी दिए । उनले कुनै टोल विकास संस्थाले पैसा असुल गरेको बारेमा उजुरी नपरेको वताउँदै केही समस्या भए अनुसन्धान समेत गर्ने कुरामा जोड दिए । पत्रकार सम्मलेनमा उपप्रमुख र सबै कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजिकरण नगर प्रवक्ता श्याम डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस