ओली सरकार आएपछि विकासको लहर छायो : मन्त्री नेम्वाङ

माघ २७, २०७७

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनपछि देशमा विकासको लहर छाएको बताएका छन् ।  पोखरा महानगरपालिका-१३ र मादी गाउँपालिका–५ जोड्ने गरी पोखरा सिक्लेस सडकखण्डको विजयपुर खोलामाथि नवर्निमित पक्की मोटरेबल पुलको सोमबार उद्घाटन गर्दै उनले पुल, सडकलगायत ठूला पूर्वाधार विकासका माध्यमबाट जनतालाई सुविधा दिन सरकार प्रतिबद्ध रहेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बनाउने अभियानभित्रको महत्वपूर्ण पक्ष भौतिक पूर्वाधारलाई सरकारले प्राथमिकता दिएको बताउँदै उनले विगतमा वर्षौंसम्म बन्‍न नसकेका विकास आयोजना वर्तमान सरकार आएपछि तीव्र गतिमा अघि बढेको उनको दाबी छ । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्ग १०/१२ वर्षअघि सुरुआत भए पनि अहिले आएर धमाधम काम भइरहेको भन्दै उनले आगामी विसं २०८० भित्रमा निर्माण गरिसक्ने गरी काम अघि बढाइएको बताए ।

‘विकास आयोजनामा अधिकतम चासो र बजेट लगानी गरेर समयमै सम्पन्‍न गर्न सरकारले ध्यान दिएको छ । पोखरा खण्डमा देखिएको राजमार्गको विवादसमेत काठमाडौँ गएर छिटो निराकरण गर्छौं’ उनले भने ।  मध्यपहाडी राजमार्गसहित, मदन भण्डारी राजमार्ग, हुलाकी, राजमार्ग, सुरुङमार्गलगायत ठूला पूर्वाधार र पूर्व पश्चिम राजमार्गलाई स्तरोन्नति गरी काँकडभिट्टादेखि गड्डाचौकीसम्म नै फराकिलो बनाउने योजना शुरु भएको मन्त्री नेम्वाङले बताए ।  

यसअघि एक वर्षमा ३० देखि ३५ मोटरेबल पुल बन्‍ने गरेकोमा वर्तमान सरकार बनेपछि एकै वर्षमा ५५३ मोटरेवल पुल निर्माण गरिएको उल्लेख गर्दै उनले डेढ दिनमा एउटा पुल बन्ने गरेको जिकिर गरे ।  

प्रतिक्रिया दिनुहोस