लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले मात्रै लगाए कोरोना खोप

माघ २७, २०७७

तुलसीपुर । लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । १४ देखि १८ माघसम्म प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक र सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिडविरुद्धको खोप लगाएका हुन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले कोभिडविरुद्ध खोपमा लुम्बिनी प्रदेशमा ठूलो सफलताको भए पनि लक्ष्यअनुसार खोप लगाउन नसकिएको बताए । उनले खोप लगाउन संकलन गरिएका नामावलीमा गर्भवती र सानो बच्चाको आमाले नलगाउने सूचना आएका कारण लक्ष्य पूरा नभएको बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी रूपन्देहीमा ६ हजार ७ सय ९१ जनाले खोप लगाएका छन् । कपिलवस्तुमा २ हजार २ सय २६, दाङमा ३ हजार ५ सय ४६, बाँकेमा ४ हजार ९ सय ५७, बर्दियामा १ हजार ९ सय ३१, नवलपरासीमा १ हजार १ सय ५२ ले खोप लगाएका छन् ।

त्यस्तै, अर्घाखाँचीमा १ हजार ३ सय ७८, पाल्पामा २ हजार ७ सय १२, गुल्मीमा १ हजार ७ सय ४५, रुकुम पूर्वमा ३ सय ८२, रोल्पामा ९ सय ८७ र प्युठानमा १ हजार १ सय ३४ जनाले खोप लगाएका छन् ।

प्रयोगमा ल्याइएको २८ हजार ९ सय ७० भाइलमध्ये खेर जाने दर न्यून रहेको छ । लुम्बिनी प्रदेशमा २५ खोप केन्द्र रहेका छन् । पहिलो चरणमा लुम्बिनीमा ३४ हजार ९ सय ९५ जनालाई खोप लगाउन डोज छुट्टयाइएकोमा २८ हजार ९ सय ७० जनाले मात्र खोप लगाएको डा. गिरीले बताए । उनका अनुसार अझै ६ हजार २५ डोज खोप प्रदेशमा बाँकी छ । 

प्रतिक्रिया दिनुहोस