दाङ उद्योग बाणिज्य संघमा अध्यक्ष र काेषाध्यक्षकाे निर्वाचन हुने

पुष १६, २०७७

तुलसीपुर ।  दाङ जिल्ला उद्योग बाणिज्य संघको दुई पदका लागि निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार अध्यक्ष र कोषाध्यक्षमा दुई÷दुई जनाको उम्मेदवारी परेको छ । ती मध्ये सहमतीका आधारमा एक÷एक जनाको उम्मेदवारी फिर्ता आउने अनुमान गरिएको थियो । निर्वाचन तालिका अनुसार बुधवार दिउँसो चार बजे सम्म कसैले पनि आफनो उम्मेदवारी फिर्ता नलिएपछि संघको दुई पदका लागी निर्वाचन हुने भएको हो ।

अध्यक्षमा टंकसिंह बुढाथोकी र बसन्त जोसीको उम्मेदवारी दर्ता भएको छ । उनीहरु मध्ये सयुक्त प्यालनबाट उम्मेदवार बुढाथोकी र स्वतन्त्रबाट जोसी हुन् । यस्तैगरी कोषाध्यक्षमा पनि सहमती जुट्न सकेको छैन । उक्त पदमा सयुक्त प्यालनबाट शुसील पोख्रेल र स्वतन्त्रबाट धनपति शर्माको उम्मेदवारी परेको छ । दुवै जना बिच सहमतीको प्रयास गरेपनि कसैले आफनो उम्मेदवारी फिर्ता लिन चाहेनन् । संघको आगामी कार्यकालका लागी २१ सदस्यिय नयाँ नेतृत्व चयन हुनेछ । जसमा २० जना निर्वाचन प्रक्रियाबाट छनोट हुनेछन् ।

संघको अन्य १८ पदमा भने सर्वसम्मत चयन भएको छ । निर्वाचन तालिका अनुसार सवैको एकल उम्मेदवारी परेको थियो । कोरोना भाईरस संक्रमणको जोखिम कायम भएकाले सकभर माहामारीबाट जोगिनका लागी भन्दै यस पटक सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयासमा आफुहरु निकै लागी परेको अध्यक्ष नारायण प्रसाद भुसालले बताएका छन् । तर अन्य पदमा सर्वसम्मत भएपनि दुई पदमा सहमती हुन नसकेको हो । संघको १६ औँ साधारण सभा तथा अधिबेशन यहि पौष १८ गतेदेखी २० सम्म हुदैछ ।

प्रतिक्रिया दिनुहोस