प्रतिस्पर्धाबाट नेतृत्वमा आउन दाहाललाई ओलीको चुनौती

खबरशाला संवाददाता  |  मङि्सर १३, २०७७

काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई महाधिवेशनबाट प्रतिस्पर्धाका आधारमा नेतृत्वमा आउन चुनौती दिएका छन्। 

अध्यक्ष ओलीले सत्तारुढ नेकपाको शनिबार सम्पन्न सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै दाहाललाई यस्तो चुनौती दिएका हुन्। 

ओलीले भने, ‘विचार, संगठन संरचना र नेतृत्व खुला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईं तयार हो?’ उनले आफूले हरेक जिम्मेवारी प्रतिस्पर्धाबाट विजय हासिल गरेरै प्राप्त गरेको प्रस्ट पारेका छन्। 

ओलीले दाहाललाई भनेका छन्, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षका रुपमा मेरो हैसियतमाथि समेत तपाईंले प्रश्न उठाउनुभएछ। यो तर्क गरिरहँदा तपाईं यो ठाउँमा आउनुभएको पनि तत्कालीन नेकपा (माओवादी–केन्द्र) को अध्यक्षकै हैसियतले हो भन्ने नबिर्सनुस्।’ 

प्रधानमन्त्री ओलीले दाहालमाथि पार्टी कार्यकर्ताको भावनाको सम्बोधन गरी टाउका गनेर गुटबन्दी गरिरहेको आरोप लगाए।

उनले भने, ‘तपाईंले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ। आफ्ना सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न र कित्ताकाट गर्न थाल्नुभएको छ।’ 

यस्तै ओलीले केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म तत्कालीन एमालेको बहुमत रहेकाले आफूले बहुमतको अंकगणित प्रयोग गर्न सक्ने चेतावनी पनि दिएका छन्।

ओलीले भनेका छन्, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी संख्या छ। बहुमतको त्यो अंकगणित तपाईंविरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो?’

ओलीले यस्तो विधि अवलम्बन गर्ने हो भने एकताको आधार खोज्न पनि प्रस्ताव गरे। उनले भने, ‘ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौं, अनि विधान संशोधन गरौं।’

एकीकरणको दुई वर्षपछि आएर कसैको ‘हामी पनि त महाधिवेशनबाट निर्वाचित थियौं नि, हाम्रो मूल्य खोइ?’ भन्ने असन्तुष्टिलाई प्रस्तावमा घुसाउँदा यसको अनर्थ लागेको ओलीको भनाइ छ।

ओलीले प्रश्न गरेका छन्, ‘यसले तपाईं आफैंलाई आफैले गरेको सहमति र निर्णयलाई उपहास गर्छ भन्ने कुरा कसरी बिर्सनुभयो?’ 

प्रतिक्रिया दिनुहोस