तुलसीपुरमा बन्ने भयाे ईन्धन डिपाे

खबरशाला संवाददाता  |  मङि्सर ०८, २०७७

तुलसीपुर । तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो स्थापना गरिने भएको छ । ६ वटा टयाङ्क र २ वटा बाउजर मेसिन तयारी अवस्थामा रहेकाले निर्माणको काम १६ दिनपछि सुरु गरिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

टयाङ्क र बाउजरका लागि टेन्डर भइसकेको छ । बैशाख १ गते उद्घाटन गर्नेगरी निर्माण कार्यलाई तिब्र बनाईने उनले जानकारी दिए । दुईवटा टयाङकले दैनिक ३ वटा जहाज आएपनि एक महिनासम्म तेलले धान्ने कार्यकारी निर्देशक पाैडेलले जानकारी दिए ।

तत्कालका लागि  अफिस, क्यालीब्रेसन टावर र पार्कीङको काम सुरु गरिने उनले बताए । त्यसका लागि ७ कठ्ठा जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणले दिनका लागि मौखीक रुपमा सहमति जनाई सकेको छ भने तुलसीपुर उपमहागनरपालिकाले १ करोड र निगमले ५ करोड खर्चन गर्ने भएको छ ।

निगमबाट आएको प्राविधिक टोलिले जग्गाको सर्वेसमेत गरेको छ । इन्धन डिपो स्थापना भएपछि तुलसीपुर–डोल्पा र तुलसीपुर –पोखराका लागि उडान भर्ने गरी छलफल भइरहेको तुलसीपुुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । इन्धन डिपो संचालन भएपछि दाङबासीको ठूलो सपना पुरा हुने उनले बताए ।

एक बर्ष अघि देखिनै इन्धन डिपो आउँछ भने पनि विभिन्न कारणले रोकिएको भन्दै तुलसीपुर उद्योगबाणिज्य संघका उपाध्यक्ष रामप्रसाद चालिसेले यसलाई अब अन्तिम छलफल गराउनुपर्ने प्राविधिक टोलीसंग आग्रह गरे । ‘अब आउँछ – आउँछ भन्ने तर बिचमा फेरी पनि आएन भन्ने नहोस’ उपाध्यक्ष चालिसेले भने ।  टाेलीमा उद्योगबाणिज्य संघका सल्लाहाकार नारायण खनाल, व्यवसायीहरू निमबहादुर केसी, बलदेव आचार्य, नगर प्रवक्ता श्याम डाँगी लगाएतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस