जनतासँग अन्तर्क्रिया गर्दै मेयर पाण्डे, विकट गाउँलाई विकासको निकट बनाउँदै

मङि्सर ०४, २०७७


तुलसीपुर । नगरप्रमुख घनश्याम पाण्डेले ग्रामिण भेगका जनतालाई भेटेर गुनासो सुन्ने अभियानको सुरुवात गरेका छन् । विकासका दृष्टिले पछाडी परेको उपमहानगरपालिकाका विभिन्न विकट ठाउँका जनताले भोगेका कठिनाई सुन्न र समाधान गर्नका लागि उनले यस्तो सुरुवात गरेका हुन् ।

‘‘जनतालाई प्रत्यक्षरुपमा भेट्दा वास्तविक समस्या थाहा हुन्छ र समाधानका लागि योजना वनाउन सजिलो हुन्छ’ उनले भने । उपमहानगरपालिकाका विभिन्न वडाहरुमा यसैगरी जनता भेट्ने उनले कार्यतालिका वनाएका छन् ।


जनताका गुनासा सुन्नका लागि मेयर पाण्डे वडा नम्वर १९ को विकट ठाउँ स्यालापानी र कुटीचौर पुगेका थिए । आफ्ना जनप्रतिनिधिलाई गुनासो सुनाउन र भएका राम्रा कामको प्रशंसा गर्नका लागि त्यहाँ छिमेकी गाउँ तोप्पापानी, धरमपानी, श्रीचौर लगायतका ठाउँबाट मानिसहरु भेला भएका थिए । ‘यसरी गाउँमै आएर समस्या सुनिदिने नेता पाइएको छ ’ स्थानीयले खुसी व्यक्त गरे ।


श्रीचौर टोलविकास संस्थाका अध्यक्ष तिलकराम घर्तीले स्वास्थ्य केन्द्रमा चौविसै घण्टा बर्थिङ्ग सेन्टर चलेर जनतालाई सहज भएको वताए । उनले गाउँसम्म पुग्ने सडकको समस्या भएको भन्दै तिन किलोमिटर सडक कालोपत्रे अन्तर्गत आधा काम भएको र आधा बाँकी रहेको गुनासो गरे । विगतमा भन्दा विकासका केही सकारात्मक परिवर्तन भएपनि धेरै काम बाँकी रहेको पनि उनले वताए ।


तोप्पापानी टोल विकास संस्थाका नन्दराम ओलीले सिँचाई अभावका कारण खेत बाँझै रहेको वताउँदै सिँचाईका लागि सहयोग मागे । ‘गाउँसम्म विद्युत पुग्न सकेको छैन, केही ठाउँमा पोल गएपनि तार जोडिएन’ उनले गुनासो गरे । उनले आँगनबाटै वेलझुण्डी खानेपानीको पाइप गएको तर स्थानीय जनताले प्रयोग गर्न नपाएको दुख व्यक्त गरे ।

शिवटोल विकास संस्थाका पहल बहादुर ओलीले स्यालापानी खोलामा तटबन्ध गरेर सिँचाई सुविधाको काम गरे । उनले विद्युत प्राधिरणले मिटरमा ढिलाई गरेका कारण निर्माण भइसकेको मोटर सिचाई सुरु हुन नसकेको वताए । उनले केन्द्र सरकारले ठूला योजना मात्रै अगाडी वढाउने गरेको वताउँदै सानासाना योजनामा ध्यान दिन मेयरलाई अनुरोध गरे ।


कुटिचौर माविका प्रधानाध्यापक गोपाल खड्काले स्थानीय सरकारको सहयोगमा विद्यालयको भौतिक संरचनाको काम अगाडी वढेको वताउँदै विद्यार्थी संख्या पनि विस्तारै वढिरहेको वताए । ‘पहिले २ सय पनि विद्यार्थी थिएनन् अहिले ३ सय ५० पुगेका छन् ’ प्रधानाध्यापक खड्काले भने ।
स्थानीय जनताको गुनासो सुनिसकेपछि मेयर घनश्याम पाण्डेले जनताले सोचे अनुसार विकास गर्नका लागि आर्थिक स्रोत व्यवस्थापनमा कठिनाई भएको वताए ।

उनले सरकारले गरेको विकासलाई जनताले संरक्षण गर्न नसक्दा पनि केही समयस्या आएको कुरामा जोड दिए । विकासका लागि जनताले तानातान गर्न प्रवृत्तिका कारण कतिपय विकास अवरुद्ध भएको समेत उनको भनाई थियो । जनतामा विकासप्रतिको अपेक्षा बढ्दै गएको वताउँदे उनले सबै मिलेर विकास गर्नुपर्ने कुरामा जोड दिए । बत्ती नपुगेको ठाउँमा यो वर्ष नै सोलारमार्फत वत्ति पु¥याउने गरी काम अगाडी वढाउने उनले प्रतिवद्धता जनाए ।


कार्यक्रममा कार्यपालिका सदस्य देवराज विक, वडा सदस्य धर्मा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस