दाङमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

चन्द्रप्रकाश नेपाली  |  असोज ३०, २०७७

दाङमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरेर हिजोदेखि नै चाडपर्वलाई सुरक्षित बनाउन विभिन्न योजनाहरु सार्वजनिक गरेको हो ।

दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरीसुरक्षा योजना लागु गरिएको दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए । उनका अनुसार दाङका विभिन्न दुई सय ८२ प्रहरी चौकीमा एक हजार ९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले दाङमा पर्व विशेष सुरक्षामा एउटा कमाण्ड पोष्ट, एउटा रिजर्भ फोर्स, १० वटा मोवाइल गस्ती, ५० वटा क्यूआरटी, ५६ वटा पैदल गस्ती, ३० वटा पिकेट, ३० वटा ट्राफिक सहितको जाँच, ८ वटा सरप्राइज जाँच, ८ वटा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस्तै यात्रु सहायता कक्ष ७ वटा, राजमार्गमा हतियार सहित स्कटिङ तथा क्रस पेट्रोलिङ ५ वटा, भिआइपी सुरक्षा १० र कार्यालय सुरक्षा तथा रिजर्भ ६६ वटा गरी दुई सय ८२ युनिट तयार गरिएको हो ।

जसमा १ हजार ९ जना सुरक्षाकर्मीलाई परिचालन गरिएको एसपी चन्दले जानकारी दिएका हुन् । यसैगरी जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वलाई तडकभडक नबनाउन आग्रह गर्दै कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पालना र धनजनको सुरक्षाका लागि शान्ति सुरक्षामा ध्यान दिन अपिल गरेको छ । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छठपर्वको समयमा हुन सक्ने अपराधिक कार्यलाई रोक्न उक्त सुरक्षा योजना लागु गरेको हो । यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वको सयमा घरमा चोरी डकैती हुन सक्ने भन्दै सतर्क हुन आम नागरिकलाई आग्रह गरेको छ ।

घर बाहिर निस्कदा झ्याँल ढाका राम्रोसँग लगाउन, सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न, जथाभावी मादक पदार्थ नबेच्न र सेवन नगर्न साथै कोरोना जोखि रहेको भन्दै सामाजिक दुरी कायम गर्न र घरमै बसेर मनाउन कार्यालयको आग्रह छ । यस्तै कुनै पनि घटना भएमा वा घटना हुन सक्ने आशंका भएमा नजिकको प्रहरी कार्यालय वा १०० फोन नर्ग पनि प्रहरीले आग्रह गरेको छ ।।

प्रतिक्रिया दिनुहोस