नक्कली सुकुम्बासी आयोग बनाएर रकम असुल्ने ८ जना पक्राउ

खबरशाला संवाददाता  |  असोज २७, २०७७


दाङ । सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ रकम असुली गर्ने आठ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको भन्दै रकम असुली गरेर ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा माछा पुच्छ्रे गाउँपालिका–९ सिदिङ घरभई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना–४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा–१७ का २२ वर्षीय सोनु परियार रहेका छन् ।

त्यसैगरी पोखरा–१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्र्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले असोज २५ गते साँझ पोखरा महानगरपालिका–१४ भोटेचौतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको ३०० रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने विश्वास दिलाएका थिए ।।

प्रतिक्रिया दिनुहोस