प्रजिअ रिजाललाई संघ संस्थाको सम्मान

खबरशाला संवाददाता  |  असोज २७, २०७७

दाङ, २७ असोज । करिब दुई बर्ष दाङको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यसम्पादन गरेर मकवानपुर जान थालेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई विभिन्न संघ संस्थाले सम्मान गरेका छन् । सोही क्रममा मंगलबार व्रम्हकुमारी इश्वरिय विद्यालय दाङ र चेम्वर अफ् कमर्स दाङले बेग्ला बेग्लै कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रिजाललाई विदाई गरेका हुन् ।

व्रम्हकुमारी इश्वरीय विश्वविद्यालय राप्तीकी प्रमुख राजयोगीनी गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले प्रमुख जिल्ला अधिकारीका रुपमा दाङ जिल्लामा काम गरेर सवैका लागि अनुकरणीय काम गरेको बताएका थिए । प्रमुख जिल्ला अधिकारीले राजनीतिक दल, संघ संस्था र आम नागरिकसंग समन्वय गरेर काम गरेकाले नै कार्यकाल सफल भएको वक्ताहरुको भनाई थियो । कार्यक्रममा बोल्नेहरुले सरल स्वभाव र सकारात्मक सोचाईका धनी प्रमुख जिल्ला अधिकारीको कार्यकाल आगामी दिनमा अझै सफल हुन सकोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले आफू जहाँ रहेपनि दाङबासीको माया र सदभावलाई कहिल्यै नभुल्ने बताए। उनले दाङ जिल्लामा रहँदा आफूले सवै निकायबाट सहयोग पाएको भन्दै आम नागरिकको सहयोगबाटै प्रशासक सफल हुने बताए। उनले दाङ जिल्लामा सहयोगी मनोविज्ञान रहेको भन्दै दाङ जिल्ला प्रदेशको राजधानी भएकाले यहाँ अनेकन सम्भावनाहरु रहेको बताए ।

कार्यक्रममा मकवानपुर जान थालेका प्रमुख जिल्ला अधिकारी रिजाल र उमेर हदका कारणले सेवा निवृत्त भएका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीलाई सम्मान गरिएको थियो । सम्मान गर्दै व्रम्हकुमारी गीता दिदीले प्रमुख जिल्ला अधिकारीको जागिरे जीवन सुखमय बन्न सकोस भन्ने शुभकामना दिनुभयो भने अवकास पछिको जीवन सार्थक र समाज सेवामा लगाउन एमसीलाई आग्रह गरे ।

उक्त अवसरमा व्रम्हकुमारी इश्वरिय विद्यालयले निर्माण गर्न थालेको मधुवन आध्यात्मिक केन्द्र निर्माण समितिका संयोजक यज्ञबहादुर भण्डारी, राप्ती पोष्ट राष्ट्रिय दैनिकका सम्पादक शरद अधिकारी, प्रमुख जिल्ला अधिकारी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी एमसी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन ब्रम्हकुमार माधव तिमिल्सेनाले गरेका थिए ।

५० हजार सहयोग

यसैबीच प्रमुख जिल्ला अधिकारी रिजालले मधुवन आध्यात्मिक केन्द्रको भवन निर्माणका लागि ५० हजार रुपैया सहयोग प्रदान गरे। यस अघि विपासना ध्यान केन्द्रलाई पनि ५० हजार रुपैया सहयोग गरेका रिजालले व्रम्हकुमारी इश्वरिय विद्यालयले शान्तिको क्षेत्रमा पुराएको योगदानको कदर गर्दै सहयोग गरेको बताए। सहयोग गर्न पाएकोमा आफू हर्षित रहेको उनकाे भनाई थियाे ।

चेम्वरद्वारा सम्मान

यसैगरी चेम्वर अफ कमर्स दाङले पनि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई सम्मानका लागि विदाई गरेको थियो । अध्यक्ष श्रीधर महराको अध्यक्षतामा भएको कार्यक्रममा रिजाललाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले अर्थतन्त्रलाई मजवुत बनाउनका लागि व्यवसायीको महत्वपूर्ण भूमिका हुने भन्दै चेम्वर अफ कमर्सले खेलेको भूमिकाको प्रशंसा गरेे । दाङ जिल्लामा रहेको समयमा चेम्वरले आफूलाई गरेको सहयोग कहिल्यै नभूल्ने प्रतिवद्धता पनि उनकाे थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीबाट निवृत्त भएका गञ्जबहादुर एमसीले जागिर छोडेपछिको समय यहि समाजका लागि खर्च गर्ने बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रीधर महराले दाङ जिल्लामा चेम्वर अफ कमर्सलाई स्थापित गर्नका लागि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले खेलेकाे भूमिका आफूहरुले कहिल्यै नभूल्ने बताए । । दाङ जिल्लामा धेरै प्रमुख जिल्ला अधिकारीसंग आफूहरुले संगत गरेको भएपनि व्यवसायीको हक हितमा काम गर्ने क्रममा गोविन्द रिजाल अव्वल सावित भएको धारणा पनि महराको थियो । कार्यक्रमको संचालन महासचिव सागर खनालले गरेका थिए ।

यसैबीच चेम्वर अफ कमर्स स्थापनाको ७०बर्ष प्रवेशको अवसरमा चेम्वरको कार्यालयमा झण्डोतोलन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी रिजालले चेम्वरको झण्डोतोलन गरेका हुन् । ७० बर्ष अघि अर्थात २००७ सालमा चेम्वर अफ कमर्स स्थापना भएको थियो । दाङ जिल्लामा भने तीन बर्ष अघि मात्रै चेम्वर स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस