नेपाली युवाले बनाए बलात्कार रोक्न एन्टी रेप सिस्टम

खबरशाला संवाददाता  |  असोज २५, २०७७

काठमाडौं । नेपाली युवाहरुले मुलुकमा बढ्दो बलात्कारका घटनाहरुलाई रोकथाम गर्न एन्टी रेप सिस्टम विकास गरेका छन् । बुटवलको कालिका मानव ज्ञान उच्च माध्यामिक विद्यालयमा १२ कक्षामा पढ्ने चार जना विद्यार्थीले यस्तो सिस्टम विकास गरेका हुन् ।

नौ कक्षादेखि कम्प्युटर इन्जिनियरिङ विषय पढिरहेका किशोरहरु साजन पौडेल, रितेश काफ्ले, शिशिर तिमिल्सिना र निश्चल न्यौपाने यो टिममा रहेका छन् । एन्टी रेप वाच नाम दिइएको यो सिस्टम युक्त घडी बालिका तथा महिलाहरुले लगाउनुपर्ने हुन्छ ।

जब आफूलाई असुरक्षित महसुस हुन्छ, उनीहरुले घडीमा भएको बटन दबाउनुपर्ने हुन्छ । बटन दबाएसँगै ‘म खतरामा छु, उद्धार गर्नुहोस्’ भन्ने म्यासेज स्वतः तयार हुन्छ ।

पीडितको लोकेसन सहितको यस्तो म्यासेज स्वचालित रुपमा स्थानीय अधिकारी तथा परिवारका सदस्यहरुलाई जान्छ । युवा विद्यार्थीहरुले वाच र सर्भर गरी दुई वटा सिस्टम तयार पारेका छन् ।

वाचमा अर्डिनो, जीएसएम मोड्युल, ट्रान्समिटर र जीपीएस सेन्सर राखिएको छ । जब वाचमा रहेको बटन दबाइन्छ, सिग्नल तयार हुन्छ र जीपीएस सेन्सरले अल्टिच्युड तथा लङ्गटीच्युडको रुपमा लोकेसनको जानकारी तयार गर्दछ ।

जुन दुई वटा फरक भेरियबलमा स्टोर हुने गर्दछ र ‘म खतरामा छु, कृपया उद्धार गर्नुहोस्’ म्यासेज तयार हुन्छ। अल्टिच्युड र लङ्गटिच्युड भेरियबल प्रयोग गर्दै एउटा लिङ्क तयार हुन्छ, जसले गुगल म्यापको यूआरएलमा रिडाइरेक्ट गर्दछ ।

त्यसपछि म्यासेज स्थानीय अधिकारी तथा परिवारका सदस्यको मोबाइल नम्बरमा जान्छ । यस्ता मोबाइल नम्बर घडी तयार पार्दाकै बखत प्रोग्रामरले सेट गर्ने साजन पौडेलले बताए ।

कल र म्यासेज पीडित जीएसएम मोबाइल नेटवर्क भएको जुनसुकै स्थानबाट कुनै पनि नम्बरमा पठाउन मिल्ने बनाउन सकिने उनको भनाई । यस अतिरिक्त यो सिस्टममा अर्को लोकल सर्भर सिस्टम पनि तयार पारिएको छ ।

जुन स्थानीय पुलिस स्टेसनमा राख्ने गरी बनाइएको छ । सर्भरमा रिसिभर, एलसीडी डिस्प्ले प्यानल र एउटा बफर राखिएको छ ।

एलसीडी प्यानलमा पीडितको लोकेसन सहित तयार भएको म्यासेज नै देख्न सकिने साजनले बताए । यससँगै सर्भरले एक किसिमको बिपिङ साउन्ड निकाल्छ, जसले प्रहरीलाई उद्धारका लागि तयार हुन सूचित गर्दछ ।

वाच र सर्भरबीच इलेक्ट्रोम्याग्नेटिक वेभको रुपमा सिग्नल प्रसारण हुन्छ । जुन एकपछि अर्को गर्दै सिग्नल निरन्तर रुपमा प्रशारण भइरहन्छ ।

तर वाच र सर्भरबीच सिग्नल प्रशारण हुन एक किलोमिटरको ओम्नी डिरेक्सन हुन जरुरी छ । यद्यपी हाइ रेञ्जको सर्भर राखेर यसले समेट्ने दुरी बढाउन सकिने साजनले बताए ।

प्रोटोटाइपको रुपमा तयार पारिएका रिचार्जेबल यो वाच एक पटक फुल चार्ज गर्दा ८ घण्टासम्म टिक्न सक्छन् । सर्भर बक्स एसी तथा डीसी दुवैमा काम गर्न सक्नेगरी डिजाइन गरिएको छ ।

‘लागत धेरै पर्ने भएकाले अहिले हामीले कम रेञ्जको सर्भर तयार पारेका छौं,’ साजनले भने, ‘कुनै किसिमको लगानी प्राप्त भएको खण्डमा हामी यो परियोजनालाई व्यवसायिक रुपमा नै अगाडि बढाउने सोचमा छौं ।’

प्रतिक्रिया दिनुहोस