भालुवाङमा तत्काल पूर्वाधार विकास प्राधिकरणको कार्यालय राखिने

खबरशाला संवाददाता  |  असोज २४, २०७७

दाङ–लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा पूर्वाधार निर्माणको लागि पूर्वाधार विकास प्राधिकरणको कार्यालय राखिने भएको छ।

यो प्राधिकरणको कार्यालय राप्ती गाउँपालिकामा छिट्टै स्थापना गरिने मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका प्रमुखहरुसँगको छलफल कार्यक्रममा स्थायी राजधानीको व्यवस्थापनका लागि पूर्वाधार विकास प्राधिकरणको कार्यालय राप्ती गाउँपालिकामा स्थापना गर्ने जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले यो महिनाभित्र प्रदेश राजधानी राप्ती उपत्यकाको जग्गाको लगत पठाउन निर्देशन समेत दिए।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाका पालिका प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका अधिकारीहरुसँग छलफलमा जग्गाको अवस्था थाहा भएपछि अरु काम अघि बढाउन सजिलो हुने भएकाले जग्गाको लगत पठाउन निर्देशन दिएका हुन्।

‘सरकारी जग्गाको अवस्था, वन क्षेत्रको जग्गा भएको तर वन नभएको जग्गाको अवस्था र निजी जग्गाको अवस्थाका बारेमा जानकारी पठाउनुस्’, उनले भने ।

सरकारी जग्गा अतिक्रमण गरी बस्ती बस्न सक्ने भएकोले चनाखो भई नियन्त्रण गर्न उनले जनप्रतिनिधि र प्रशासनका अधिकारीहरुलाई आग्रह गरे ।

मुख्यमन्त्रीले राप्ती उपत्यका नयाँ नाम दिइएको र उपत्यका भित्र गढवा, राप्ती र शितगंगा पालिकाको मैदानी भाग पर्ने भएकाले भ्रममा नपर्न आग्रह गरे ।

छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, राप्ती गाउँपालिकाका प्रमुख नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव र शितगंगा नगरपालिकाका प्रमुख सूर्य अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, मालपोत कार्यालयका अधिकारीहरु र प्रदेश सरकारका प्रमुख सचिवसहित मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस