के भगवान् तपाईंको पसलमा छन् ?

तुफानबाबु श्रेष्ठ  |  असोज २४, २०७७


एकजना आठ वर्षको बच्चा आफ्नो मुट्ठीमा एक रुपैयाँको सिक्का लिएर पसलमा गयो र भन्यो, ‘के तपाईंको पसलमा भगवान् छन् ?’


सुनेर पसलेले त्यो सिक्का भुइँमा फ्याँकिदियो र बच्चालाई त्यहाँबाट निकालिदियो ।
त्यो बच्चा फेरि नजिकैको अर्को पसलमा गयो र एक रुपैयाँको सिक्का लिएर चुपचाप उभिइरह्यो । पसलेले भन्यो, ‘ए केटा ! तिमी एक रुपैयाँमा के चाहन्छौ ?’


केटाले भन्यो, ‘म तपाईंको पसलमा भगवान् चाहन्छु ?’


त्यो पसलेले पनि उसलाई त्यहाँबाट भगाइदियो । तर त्यो निर्दोष बच्चाले हार मानेन ।
एउटा पसलबाट अर्को पसलमा, दोस्रोदेखि तेस्रोसम्म, त्यसो गर्दा गर्दै उसले करिब ५० वटा जति पसलमा चक्कर लगायो र अन्तिममा एउटा पसलमा पुग्यो ।


त्यो पसलमा एकजना बूढो पसले बसेको थियो । उसले सोध्यो, ‘तिमी किन भगवान्लाई किन्न चाहिरहेका छौ ? भगवान्लाई पाएर के गर्छौ ?’


पहिलो पटक एक जना पसलेको मुखबाट यो प्रश्न सुनेर बच्चाको अनुहारमा आशाको किरण छायो । उसलाई यस्तो लाग्यो— यो पसलमा भगवान् फेला पर्नेछन् ।


बच्चाले उत्साहसाथ जवाफ दियो— यो संसारमा मेरी आमाबाहेक अरू कोही पनि छैनन् । मेरी आमाले दिनभरि काम गर्छिन् र मेरो लागि खाना ल्याउँछिन् । मेरी आमा अहिले अस्पतालमा छिन् । मेरी आमाको मृत्यु भएमा मलाई कसले खुवाउला ? डाक्टरले भनेका छन् कि अब तिम्री आमालाई केवल भगवान्ले मात्र बचाउन सक्छन् । के तपाईंको पसलमा भगवान् छन् ?’


पसलेले भन्यो, ‘हो, मेरो पसलमा भगवान् छन् । भन, तिमीसँग कति रुपैयाँ छ ?’
बच्चाले भन्यो, ‘एक रुपैयाँ मात्र छ ।’ पसलेले भन्यो, ‘कुनै समस्या छैन । एक रुपैयाँमा मात्र पनि भगवान् पाउन सकिन्छ ।’


पसलले बच्चाको हातबाट एक रुपैयाँ लियो तर उसको पसलमा एक रुपैयाँमा एक गिलास पानीबाहेक अरू केही चिज आउन सक्ने सम्भावना थिएन । त्यसैले पसलेले त्यो बच्चालाई फिल्टरबाट एक गिलास पानी दियो र भन्यो, ‘यो पानी तिम्री आमालाई पिउन देऊ अनि सब ठीक हुनेछ ।’


भोलिपल्ट केही चिकित्सा विशेषज्ञहरू त्यस अस्पतालमा पुगे । महिलाको शल्यक्रिया भयो । र अत्यन्त छोटो समयमै उनी निको भइन् । डिस्चार्ज कागजमा अस्पतालको बिल देखेर ती महिलाको होस उड्यो । डाक्टरले उनलाई आश्वासन दिए, ‘कुनै चिन्ता नलिनुस् ।

एक जना वृद्ध सज्जनले तपाईंको सबै बिलहरू तिरेका छन् । र साथमा एउटा पत्र पनि छोडेर गएका छन् ।’

ती महिलाले चिठी खोलेर पढ्न थालिन् । त्यसमा लेखिएको थियो— मलाई धन्यवाद दिन आवश्यक छैन । भगवान् आफैँले तपाईंलाई बचाउनुभएको छ । म त केवल माध्यम मात्र हुँ । यदि तपाईं धन्यवाद दिन चाहनुहुन्छ भने तपाईंको अबोध बच्चालाई दिनुहोस्, जो केवल एक रुपैयाँ साथमा लिएर मूर्ख जसरी भगवान्लाई खोज्न भाैतारिइरहेको थियो ।

उसको मनमा दृढ मनोकामना थियो कि केवल भगवान्ले नै तपाईंलाई बचाउन सक्छन्, यसलाई नै विश्वास भनिन्छ । भगवान्लाई पाउन करोडौँ रुपैयाँ दान दिनुपर्दैन, यदि तपाईंको दिमागमा अटल विश्वास छ भने त्यो एक रुपैयाँमा पनि पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस