राजतन्त्रको अर्थ राजनीति नियाल्दा

रामबहादुर जिसी  |  असोज ०३, २०७७

अध्येता तथा लेखक सूर्य थापाद्वारा लिखित”राजतन्त्रको अर्थ राजनीति”नामक पुस्तक पढी सिध्याइ त्यसबारेमा आफूलाई लागेका कुरा समिक्षात्मक रुपमा टिप्पणी गर्ने धृष्टता गर्दैछु।खासगरी राजतन्त्रको उत्थान पतन र भबिस्य सम्बन्धमा त्यसको धुइंपत्ताल उधिनी राजतन्त्र कसरी बांचिरह्यो?आम नागरिक संगको सम्बन्ध बिस्तारमा उसको के कस्तो भूमिका रहयो?उसका अवसान र पतन हुनाका कारणहरु के के हुन् ?

शाही राजतन्त्रको आर्थिक हैसियत र उसका क्रियाकलापहरुलाइ जांच्न,बुझ्नको लागि पुस्तकले आखिझ्यालको काम गर्दछ।खासगरी राजतन्त्र बिरोधि आन्दोलनले उत्कर्षको रुप लिदै गर्दा राजतन्त्रलाई कमजोर बनाउन थालिएका कदम मध्य राजा र राजपरिवारका नाममा रहेको चल,अचल सम्पत्ति खोजी कार्यको सचेत प्रयत्ननै  पुस्तकको मूल बिषय रहन गएको छ।पुस्तक भित्र राष्ट्रको चल,अचल सम्पत्ति माथी राजा र राजपरिवारले कसरी ब्रम्हलुट मच्चाउंदै आएको छ,आफ्नो र आफ्ना परिवारका नाममा अकुत सम्पत्ति थुपारी त्यसलाई पारदर्शी बनाउन चालिएका प्रयत्नहरुलाइ निष्क्रिय पार्न र जनताको आँखामा छारो हाल्ने र ढाकछोप गर्ने यत्न गरियो?

सार्बजनिक गुठी ऐलानी,पर्ती जग्गा र सरकारी जंगलहरुलाइ आफ्ना नाममा दर्ता तथा स्वामित्वमा लिने प्रयत्नहरु कसरी भए ? ०५८ जेठ १९मा राजा बिरेन्द्रको बंशनाश हुनेगरी भएको हत्याकाण्ड पश्चात् उनको बंशका नाममा रहेका सम्पत्तिलाई त्यस पछि गद्दीमा आसिन राजा ज्ञानेन्द्रले कसरी आफू र आफ्ना नाममा नामसारी गराए ? गुठिका जग्गामा मोहि बनेर समेत राजाहरुले कसरी जग्गा हडप्न पुगे ? यी र यस्ता रोचक र आश्चर्यजनक प्रसङ्ग माथी चर्चा गरिएको छ।


     पुस्तक भित्र लम्जुङका राजा यशोब्रम्ह शाहका माहिला छोरा द्रब्य शाहले सन १९५९मा बिजय प्राप्त गरे पश्चात् गोर्खामा शाह बंशिय राजा हुनेक्रम चले संगै पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्र सम्मको २३९ बर्ष अबधिका राजतन्त्रकालिन शासन ब्यबस्थापनका स्वरुप र उतारचढाव पछाडिको राजतन्त्रको अर्थ राजनीतिक अभिप्राय के थियो?

गोर्खाका गरिब रजौटा पृथ्वीनारायण शाह देखि उनका दशौ पुस्तामा खरबौपती राजा ज्ञानेन्द्रसम्म आइपुग्दा देखापरेको आर्थिक हैसियत र त्यससंग जोडिएको राजनीति सम्बन्धको अध्ययन र विश्लेषण गर्न खोजिएको छ।यसैक्रममा गोर्खा राज्यकालमा पृथ्वीनारायण शाहको बाल्यकाल कसरी बित्यो?उनको दैनिकि खर्च कस्तो थियो?

गोर्खा दरबारको दरौदी फांटमा”सेरा”नामक धनहर बेसि र त्यहाँ उत्पादन भएको अन्नबाली भित्र्याएपछी गोर्खा दरबारको खर्चको जोहो,राज्य बिस्तारको क्रममा आफू संग रहेका अस्थायी फौज,झारा फौज हुँदै स्थायी सेनाको प्रबन्ध,फौज परिचालन र हतियार खरिद सम्बन्धमा आर्थिक संकट टार्न जग्गा बन्धकी र ऋण लिएका प्रसङ्ग काठमाडौ बिजय पश्चात् बाणिज्य करको ब्यबस्था,राज्य र राजाको आम्दानीको बन्दोबस्ती प्रसङ्गबारे पनि पुस्तकमा चर्चा गरिएको छ।त्यसैगरी पुस्तकमा पृथ्वीनारायण शाहको मृत्यु पछि नेपालको राजदरबारमा राजाहरू भन्दा संरक्षक र भारदार कसरी प्रभाबी र हर्ताकर्ता हुन पुगे?

सत्ता हत्याउने नाममा चौतरिया,पांडे,थापा र बस्नेत आदि भारदारी गुट बिच दाउपेच,षडयन्त्र,मारकाट हुँदै कोतपर्व र भन्डारखाल पर्व रच्न पुग्दा कुनै पनि प्रधानमन्त्री र भारदार कालगतिले मर्न नपाएको अबस्थाको चरित्र चित्रण पनि गरिएको छ।त्यसैगरी पुस्तकमा तत्कालीन समयमा शाही परिवारका लागि खाद्यान्न आपूर्ति र आधारभूत बस्तुहरुको मौज्दातको जोहोको लागि शासकहरुले के कस्तो रणनीति अख्तियार गरेका थिए?

त्यसको लागि कुन कुन जिल्लाहरुमा किसानहरु संग सम्पर्क तथा समन्वयको चांजोपांजो मिलाइएको थियो?राज्यको बढ्दो आकार,सैनिक क्रियाकलापको अनियंत्रित वृद्धिले गर्दा श्रम सेवा,झारा प्रणाली लागू गरि हतियार,गोलि गट्ठा,रसदपानी र अन्य सैनिक आपूर्तिको लागि बाटोघाटो,पुल पुलेसा,कुलो निर्माणमा कसरी स्थानीय मानिस र किसानहरुलाइ परिचालित गरिएको थियो?त्यस बखत मुलुकको सम्पूर्ण भूमि राजाको अधिनस्थ हुने भएकोले शाही परिवारको सेवा गरे बापत भूमि सित्तैमा पाउने,फिर्ता गर्ने राजाको स्वेच्छामा भरपर्ने भएकोले लालमोहर,स्याहामोहर,रुक्का शाही निशाना छाप,रैकर,जागिर,रकम,बिर्ता र गुठी प्रणाली भू स्वामित्वका मूख्य रुप भएको र त्यस कालखण्डमा किसानहरुका स्याउले झुपडी एबम राजा,बिर्तावाल र जमिनदारहरुको महलहरु बिचको बिरोधाभाष प्रसङ्गबारे पनि पुस्तकमा चर्चा एबम बिमर्श गरिएको छ।

त्यसैगरी पुस्तकमा शाही परिवारका आम्दानीका स्रोतमा श्रीपेचकर,दर्शनभेट कर,टिकाभेट कर,फत्तेमुवारक कर,चुमावन,गादी मुवारक र गोडधुवा करहरु स्थापित गरिएको र राजदरबारमा मनाइने पर्व समारोह आदिका लागि वा दरवारको अतिरिक्त करका लागि विभिन्न प्रकारका करहरु देश ब्यापीरुपमा उठाइने गरिएको त्यस्ता कर मध्ये आवश्यक्तानुसार नगद तथा जिन्सी पनि हुन सक्ने ब्यहोरा विवरणबारे चर्चा पनि गरिएको छ।

त्यसैगरी पुस्तकमा आम्दानीका अन्य स्रोतहरुमा धान खेत र काठमाडौ तथा आसपासका गाउँले इलाकामा राखिएका पशुगोठहरु रहेको जस मार्फत चामल गहुँ, तेल,भेडा कम्बल,मैन मह,बेसार,अन्डा,दाउरा आदि बस्तुहरु आपूर्ति गर्ने ब्यबस्था मिलाइनुका साथै शाही परिवारको खर्चमा राज्यको राजस्व समेत प्रयोग हुने ब्यहोरा बारे पनि उल्लेख गरिएको छ।त्यसै गरि पुस्तकमा कोतको रक्तरंजित हत्याकाण्डबाट सत्ता हत्याइएका राणाहरुले कसरी शाह राजाहरुलाइ खोपिको देउतामा सिमित गरि शासन सत्ता संचालन गरे?

कसरी राष्ट्रको ढुकुटी दोहन तथा लुटखसोट गरि आ-आफ्नो दर संन्तानका लागि असीमित रुपमा सम्पत्ति जम्मा गरे?यसबारेमा चर्चा गरिएको छ।त्यसैगरी पुस्तकमा राजा महेन्द्रले कसरी आफैले दिएको संबिधान अन्तर्गत बनेको सरकार र संसदको घाँटी निमोठी एक दलिय चरीत्रको पंचायती ब्यबस्था लागू गरि त्यसकालमा लुटखसोटका हर्कत र धन्दागिरी चलाइए?तराईमा रहेका बिशाल र हरियाली बनजंगल फडानी गरि कसरी सखाप पारियो?

राजा र उनको शासन मण्डलिले त्यस काण्ड रचे बापत कसरी अकुत धन आर्जन गर्यो?राज्यशक्तिको आडमा सार्बजनिक जग्गा,बनजंगलहरुमा राजपरिवारको नाममा दर्ता तथा स्वामित्व कायम,ठूलठूला होटेल रेस्टुरेन्ट,चियाबगान,जलविद्युत,चुरोट कारखाना,खोटो कत्था लगाएतका उद्योग ब्यबसायहरुमा राजपरिवारका सदस्य तथा  नातेदारको लगानी र कब्जा प्रकरणबारे पनि चर्चा गरिएको छ।


  त्यसैगरी बिदेशी मुद्रा अपचलनका धन्दागिरि सैनिक तथा प्रहरी लगाएत राज्यको केन्द्रिय स्तरको ठूलो सरकारी खरिदमा दरबारको रुचि,राजा र राजपरिवार आड र संरक्षणमा ठूलठूला अबैध धन्दा,भ्रष्टाचार र घोटालाका दर्जनौं काण्ड,मूर्ति चोर,सुन,बाघ र सर्पका छाला तस्करी,ला.औ.कारोबार,चेलिबेटी बेचबिखन,जुवा र कालोधन्दागिरि देखि शाही बिशेषाधिकार अन्तर्गत राज्यकोषबाट राजपरिवारको बिलासी जिबनयापन र ऐयाशको लागि दरबारले लिने अकुत खर्च र राजा ज्ञानेन्द्र सम्म आइपुग्दा अपुतालीमा प्राप्त चल अचल सम्पत्तिले गर्दा नेपालको राजतन्त्र खरबपती बन्न पुगेको कारणले पनि राजतन्त्रले किमार्थ र कदापी प्रजातन्त्र र लोकतन्त्रको मर्मलाइ आत्मसात गर्न नसक्ने र ऐन मौकामा जनता उपर निरंकुशता र हुकुमी शासन लाद्ने घटनाक्रमनै अर्थ राजनीतिक अभिप्राय रहेकोे यसै बुझिन्छ भन्दै लेखकले त्यसबारेमा आफ्नो स्पष्ट मत राखेका छन्।

त्यसैगरी पुस्तकमा पंचायती कालरात्रीको अन्त्य पछि बहुदलीय शासनकालमा राजाका सर्बत्र प्रभावलाई धेरै हदसम्म नियन्त्रण गरि संसदद्वारा बिनियोजित सुबिधामा सिमित गरिएता पनि ०५८ जेष्ठ१९को नारायणहिटि दरबार हत्याकाण्ड पछि गद्दीमा आसिन राजा ज्ञानेन्द्रले ०५९ असोज १८ र माघ १९ पछि प्रत्यक्ष शासन सम्हाले लगत्तै देशले मनपरी खर्च वृद्धि भोग्नुपरेको,०६३ बैशाख ११ गते १९ दिने आम हडताल र जनआन्दोलन सामु राजा ज्ञानेन्द्र झुक्न बाध्य भए पछि दरबारको खर्च सम्बन्धि अध्यादेशको निरंतरता रोकिएको र प्रतिनिधि सभा ०६३ले राजाको खर्च र सुबिधामा प्रतिनिधि सभाको निर्णय बमोजिम हुने,राजाको निजि सम्पत्ति र आय माथी कर लाग्ने ब्यबस्था गरेको चर्चा गर्दै पुस्तकमा सन २००६को एक रिपोर्टमा राजा,महारानी,शेख,सुल्तान र तानाशाहहरुनै संसारका १० धनाढ्यको सूचि र पंक्तिमा रहने गरेको प्रसङ्ग ब्यहोरा पनि उल्लेख गरिएको छ।

त्यसैगरी पुस्तकमा पृथ्वीनारायण शाह देखि ज्ञानेन्द्र शाह सम्मको शासनकालमा नेपाली राजतन्त्रको अस्तित्वको मूल आधार जनता नभएर उल्लेखित प्रकारका अनियमितता,राष्ट्रिय ढुकुटीको लुट खसोट,कमिसनको खेल र जबर्जस्तीनै रहेको ब्यहोरा बारे पनि लेखकले गहिरो अध्ययन गरि मिहिन प्रकारले प्रकाश पारेका छन् ।त्यसैगरी पुस्तकमा राजा बिरेन्द्रको बंश नाश हुनेगरी भएको नारायणहिटि दरबार हत्याकाण्ड पश्चात् तत्कालीन राजा बिरेन्द्र र गद्दीमा आसिन ज्ञानेन्द्र लगाएतका राजा र राजापरिवारका अन्य सदस्यहरुको नाममा तथा स्वामित्वमा देशका विभिन्न ठाउँहरुमा के कति क्षेत्रफल र पैमानामा जग्गा जमिन रहे भएको छ? र उद्योग ब्यबसायमा लगानी रहेको छ?

त्यसबारेमा पनि यथासंभब खोजबिन,जांचबुझ गरि प्राप्त विवरण र त्यसको पारदर्शीता र सार्बजनिकिकरण सवालवारे उठेका जायज प्रश्न र आवाजबारे पनि विमर्श एबम प्रकाश पार्ने कोशिस गरिएको छ।त्यसैगरी पुस्तकमा तत्कालीन राष्ट्रिय गानमा समेत राजाको महिमागान गाउदै प्रचण्ड प्रतापी भूपतिको प्रशस्ती भएकोमा प्रतिनिधि सभा ०६३ को घोषणाले त्यो खारेज गरिएको भए पनि भूपति राजा र उनकि काकी हेलेन शाह र ज्ञानेन्द्र शाह समेतले देशका विभिन्न ठाउँमा रहेका गुठी जग्गाको मोहि बनी जग्गा हडपेको र हत्याएको आश्चर्यजनक प्रसङ्ग ब्यहोरा बारे पनि पुस्तकमा चर्चा गरिएको छ।

त्यसैगरी पुस्तकमा राजा र राजपरिवारका सदस्य र नातेदारहरुको प्रभावमा कसरी देशका विभिन्न ठाउँमा रहेका कम्पनी,होटेल,रेस्टुरेन्ट,उद्योग ब्यबसायमा शेयर लगानी गरेका छन्?नाफा घाटाको सरोकारमा चासो,निग्रानि,प्रभाव र दवाब छाडेका छन्? राजघरानाको प्रभावमा भोटेकोसी पावर कम्पनीले कसरी विद्युत प्राधिकरण संग डलरमा विद्युत खरिद सम्झौता गरि विद्युत प्राधिकरणलाईनै टाट पल्टाउनमा उद्दत रहयो? सूर्य टोबाको कम्पनीले कसरी जनकपुर चुरोट कारखानालाई डुबाएर अस्तित्वको संकट तर्फ धकेल्यो?

यसरी शाही लगानीको लेखाजोखा सम्बन्धमा लेखकले गहिरो खोज अनुसन्धान गरि निकालेको रिपोर्टमा कृया प्रतिक्रिया र टिप्पणी प्रसङ्गलाई समाबेश गरिएको छ।त्यसैगरी पुस्तकमा दिबङ्गत राजा बिरेन्द्रको नाममा दर्ता भएको गोकर्ण स्थित जंगल र निकुञ्जलाई कसरी ३० बर्ष सम्मका लागि बिदेशी कम्पनीलाइ लिज भाडामा दिई राजदरबारले बर्सेनी १ लाख ४० हजार अमेरिकी डलरको प्रत्यक्ष लाभ लिइरहेको थियो? भन्ने बारेमा पनि प्रकाश पारिएको छ।

यसरी ०३६ साल पछि राजा बिरेन्द्र र शाही परिवारका नाममा देशैभरी रहेका हजारौं रोपनी सरकारी जग्गा,गुठी र जंगल कसरी निजि दर्ता गर्ने क्रम जारी रहेको थियो सहजै बुझिन्छ। त्यसैगरी काठमाडौ उपत्यका भित्र फस्टाइरहेका व्यावसायिक कम्पेक्स मल,कमलादी हेरिटेज मध्य काठमाडौ शेयर मार्केट,आर बि कम्पलेक्स,युनाइटेड वर्ल्ड सेन्टर,काठमाडौ मल र कान्तिपुर मलहरुको लिज अबधारणामा निर्माण गर्ने काम दरबारको स्वामित्वमा रहेका जग्गाहरुबाट शुरु भएको र जस अन्तर्गत कमलादीस्थित काठमाडौ प्लाजा,गोकर्ण स्थित गल्फ पार्क र होटेल,हेरिटेज प्लाजा र टेकु बुद्द्बारी स्थित काठमाडौ बिजनेश पार्क,लाजिम्पाट स्थित श्रीनिवास बंगलामा स्ट्यान्डर्ड चार्टर्ड बैक निर्माण कार्यका लागि दरबारले सम्झौतामा जग्गा उपलब्ध गराइ नाफा आर्जनमा प्रत्यक्ष,अप्रत्यक्ष संलग्न भएको घटना प्रबृत्तिलाई बारे पनि औल्याइएको छ।

त्यसैगरी पुस्तकमा सन २००५मा तत्कालीन राजा ज्ञानेन्द्र राष्ट्र प्रमुख र सरकार प्रमुख भएका बखत झण्डै १ महीना लामो अफ़्रिकी देशहरूको भ्रमणमा निस्कदा नेपाल बायुसेवा निगमको विमान चार्टर गरि त्यस अबधिको चार्टर वापतको रकम भुक्तानीको लागि सम्बन्धित मन्त्रालय मार्फत तारन्तार खबर गर्दा त्यसको सुनुवाइ नहुदा निगमले घाटा ब्यहोर्नु परेको घटना विवरण बारे पनि प्रकाश पारिएको छ।

त्यसैगरी पुस्तकमा ०५९ मंसिर ८ गते राजपरिवार खर्च ब्यबस्था ऐन०३१लाई संशोधन गर्न बनेको अध्यादेशले तत्कालीन राजा ज्ञानेन्द्रलाइ स्वेच्छाचारी वृद्धिको अधिकार प्रदान गरेको उकालो अध्यादेशको आधारलाई टेक्दै ०५९असौज १८ देखि ०६३ बिचमा करिब ४ बर्षको अबधिमा दरबारको खर्च अढाई अरब सम्म पुगेकोले देशले ठूलो ब्ययभार ब्यहोर्नु परेको दृष्टान्त बारे पनि जानकारी गराइएको छ।

त्यसैगरि पुस्तकमा राज्यले शाही परिवारको लागि राज्यकोषबाट सम्पूर्ण सुबिधाका साथै आवासको लागि दरबार समेत उपलब्ध गराएको सन्दर्भमा राजाको निजि सम्पत्तिमा रुचिभाव जाग्नु र बन्द ब्यापारमा निजि लगानी आय आर्जनमा संलग्न नहुनुपर्ने हुँदाहुँदै राजा ज्ञानेन्द्र लगाएतका शाही परिवारका सदस्यले त्यसमा प्रत्यक्ष जोडिनु  राज्यलाई तिर्नुपर्ने कर समेतको ब्यहोर्न नपर्ने सुविधाजनक प्राबधानले गर्दा त्यही बिशेषाधिकारको आडमा मुलुकमा मध्ययुगीन लुट खसोट भए गरेको तथ्यगत विवरणबारे पनि पुस्तकमा चर्चा गरिएको छ।

त्यसैगरी पुस्तकमा राजा ज्ञानेन्द्र र उनको परिवारको सम्पत्तिको रुपमा अधिक जमिन रहेकोमा आय कम भएको अधिकांश लगानी औद्योगिक र उत्पादनमूलक कारोबार भन्दा ब्यापारीक र अनुत्पादक कारोबारमा बढी भएको देखिएकोले राजतन्त्रको चरीत्र सामन्तवाद भन्दा पनि दलाल तथा नोकरशाही पुजीवादतर्फ बढी अग्रसर भएको स्वत देखिएकोले ऐतिहासिक जन आन्दोलन पछि बनेको प्रतिनिधि सभाले परम्परागत राजतन्त्रका सम्पूर्ण बिशेषाधिकार कटौती गरेको सन्दर्भमा प्रतिनिधि सभा ०६३ र अन्तरिम संबिधानको ब्यबस्थालाई तत्काल कार्यान्वयन गरि तमाम शाही बिशेषाधिकार छुट र लुटको आडमा जम्मा गरेको सम्पत्ति राष्ट्रियकरण गर्नु अत्यावश्यक रहेको,पतनको डिलमा पुगेको राजतन्त्रको संकट बुझ्ने र अनुकुल स्थितिमा चोटिलो र निर्णायक प्रहार गरेर उदाउँदो गणतन्त्रलाई संस्थागत गर्ने मामिलामा राजनीतिक दलहरूले सामर्थ्य देखाउन सकेनन् र त्यो ऐतिहासिक अवसर गुमाए भने भाबी पुस्ताले फेरि लोकतन्त्रका लागि संघर्ष गर्ने दिन नआउला भन्न सकिन्न भन्दै लेखकले राजनीतिक दलहरूको नेतृत्वको जुझारुपना,कौशलता,निर्णय क्षमता र आंटिपन माथी प्रश्न उठाएका छन् ,सन्देह ब्यक्त गर्दै घच्घच्याउने जमर्को गरेका छन्।


    यसरी जम्मामा यस पुस्तक अध्ययनले राजतन्त्रको अर्थ राजनीतिक चरित्र,हैसियत त्यसका क्रियाकलाप जाच्न,बुझ्न र त्यसको अन्त्यको लागि आधार तयार पार्न आखी झ्यालको काम गर्नेमा कुनै शंका छैन।पुस्तक पठनिय,मननिय र सङ्ग्रहनिय यसै रहेको छ।राजतन्त्रको आर्थिक जग आधार खोतल्ने,अनुसन्धान गर्ने र तथ्यगत आर्थिक तथ्यांक संकलन गर्ने क्रममा लेखकले जोखिम मोलेका छन्।निकै सुरो,आंटी र हिम्मती काममा आफू लाई समर्पित गरेका छन् ,जसको लगातारको मिहिनेत र अनुसन्धानको क्रममा यो स्तरको पुस्तक बजार र पाठक सामु आउन सफल भयो।राजतन्त्रको अर्थ राजनीतिबारे थप जान्न बुझ्न चाहाने जिज्ञासु पाठक,अनुसन्धानकर्ता र विद्यार्थीको लागि यो पुस्तक बैचारिक खजाना र सन्दर्भ स्रोत बन्ने पक्का छ।

प्रतिक्रिया दिनुहोस