सरकारले न्याय गरेको दिन..‍.

वसन्त आचार्य  |  असोज २०, २०७७


वसन्त आचार्य


प्रदेश नम्बर ५ को नाम अबदेखि लेखिने भएको छ ‘लुम्बिनी प्रदेश’ अनि अस्थायी थलो पनि स्थायी भएको छ ‘भालुवाङ्ग’ । बुटवलबाटै बुटवलमा रहेको अस्थायी राजधानी दाङ्ग देउखुरीमा ल्याएर प्रदेश सरकारले स्थायी बनाएको छ । सत्ताको आड र बलले घोषणा भएको अस्थायी राजधानीलाई जनताको बलले उपयुक्त स्थानमा घोषणा गरिनुले सबैमा उत्साहको सञ्चार गरेको छ ।

भुगोलका दृष्टिले ‘भालुवाङ्ग’ ले दिने न्याय कुनै पनि कोणप्रतिकोणबाट बुटवलले दिन सम्भव थिएन र छैन पनि । राजधानी घोषणाले प्रदेश सरकारसँग रहेका जनताका गुनासाहरु किनारा लागेका छन् । जनताको मतले वनेको सरकारले जनतालाई न्याय गर्छ भन्ने मान्यता स्थापित भएको छ । नेकपा सरकारको बहुमत हुनुका कारण पनि जनताले यो न्याय पाएका हुन् ।


राजधानी नै विकासको आधार नहुन सक्छ , विकासका लागि राजधानी नै हुनुपर्दछ भन्ने मान्यतालाई संघीयताले भत्काएको छ । हिजोको जस्तो एकात्मक राज्य प्रणालीमा हो विकासका लागि राजधानी नै हुनुपर्दछ भन्ने कुरा । आज गाउँगाउँमा अनि घरघरमा सरकार पुगेको छ । विकासका लागि राजधानी नै चाहिन्छ भन्ने पुरातन कुरालाई हामीले त्याग्नु जरुरी छ ।

तर प्रशासकीय कार्यलाई प्रभावकारी र न्यायपुर्ण वनाउनका लागि सबैको पहुँच हुने ठाउँमा राजधानी घोषणा हुनु जरुरी थियो र भयो पनि । प्रदेशको पूर्वि र पश्चिमी सिमानाबाट नाप्दा भालुवाङ्ग जत्तिको उपयुक्त ठाउँ अरु कुनै हुनै सक्दैन । अन्य प्रदेशले विकासका दृष्टिले समृद्ध शहरमा राजधानी घोषणा गरेको अवस्थामा भर्जिन ल्याण्डमा नयाँ संरचना निर्माणको अठोट सहित राजधानी घोषणा हुनुले प्रदेश नम्बर ५ सरकारको भुमिका प्रशसनिय मान्नुपर्ने हुन्छ ।


मुख्यमन्त्री शंकर पोख्रेलको बुद्धिमत्तापूर्ण कदमले सारा प्रदेशबासीले न्यायको अनुभुति गरेका छन् । प्रदेश राजधानी तोक्ने सवालमा निकै ठूला ठुला वितण्डाहरु भएका थिए । अनेक राजनीतिक तिकडमहरु भएका थिए । तर यस प्रदेशको सवालमा भने सामान्य छिटपुट घटना बाहेक खासै धेरै ठुलो क्षति व्यहोर्नुपर्ने अवस्था सृजना भएन । सात वटै प्रदेशमा सबैभन्दा उत्तम मुख्यमन्त्री भन्ने कुरालाई पोख्रेलले यतिबेला सही सिद्ध गरेका छन् ।

भुगोलका हिसाबले मध्यविन्दुमा पर्ने भालुवाङ्गले दाङ्गलाई मात्रै होइन सबै जिल्लाहरुलाई न्याय गरेको छ । धेरै जिल्लामा उत्साहका साथमा दिपावली गरिनुले राजधानी तोक्ने विषयमा सरकारले सही कदम चालेको प्रतित हुन्छ ।


प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पोख्रेलले नयाँ ठाउँमा संरचना निर्माण गर्दा सरकारलाई कुनै पनि खालको जटिलता नहुने कुरा समेत व्यक्त गरेका छन् । राजधानी घोषणासँगै प्रदेश सरकारले अव मन्त्रालय व्यवस्थापनमा पनि तदारुकता देखाउन निश्चित छ । पावरको एक्सरसाईजमा बलेका ठाउँ वलिरहने र निभेका ठाउँ निभिरहने विडम्वनाको यसपटक अन्त्य भएको छ । भालुबाङ्ग र त्यस आसपासको भर्जिन ल्याण्डलाई समृद्धिको नयाँ उचाईमा पु¥याउँने काम अव प्रदेश सरकारको हो । राजधानी घोषणाले मन्त्रालय र कार्यालयका विभिन्न भवनहरु ठाँडो पारेर मात्रै हामीले खोजेको समृद्धि आउँदैन । जनतालाई उत्पादनसँग जोड्ने खालको विकासमा प्रदेश सरकारले सोच्नु आवश्यक छ ।


मुख्यमन्त्री पोख्रेललको राजनीति अस्तित्वसँग जोडिएको प्रदेश राजधानी घोषणाले उनलाई थप लोकप्रिय वनाएको छ । बाँके, वर्दिया, रुकुम, रोल्पा लगायतका जिल्लाका लागि समेत प्रदेश राजधानी भालुवाङ्ग हुनु निकै न्यायपूर्ण कुरा हो । तर यो लोकप्रियतासँगै अन्य जिल्लालाई कसरी जोडेर लैजाने भन्ने चुनौति उनका बीचमा अझै रहेको छ ।

बुटवललाई औद्योगिक राजधानी तोकेर उद्योग धन्दाको केन्द्र बनाउँने, कपिलवस्तुलाई पर्यटनको केन्द्रका रुपमा तोकेर पर्यटनको राजधानी वनाउने अनि भालुवाङ्गलाई प्रशासकीय राजधानी वनाउने मुख्यमन्त्रीको प्रतिवद्धता प्रदेश सभामा गुन्जिरहदा सभासदहरुले ध्वनी मतबाट खुसी व्यक्त गरेका थिए । प्रदेशको राजधानी कुनै एक ठाउँ तोकेपनि अन्य हरेक जिल्ला र शहरहरुलाई पनि विभिन्न विशेषता थपेर समृद्धिको यात्रामा सँगसँगै लैजाने प्रतिवद्धताले यो प्रदेशलाई थप विकासको बाटोमा अग्रसर वनाउने गोरेटो तय भएको छ । नेतृत्वले राजधानी घोषणा र नामकरणमा जुनखाले न्याय ग¥यो आउँदा दिनमा पनि जनताका लागि यस्तै न्याय गर्नुपर्ने अपेक्षा जनतामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस