प्रदेशको राजधानी र नाम दुई तिहाई बहुमतले पारित राजधानी दाङको भालुवाङमा, नाम लुम्बिनी

खबरशाला संवाददाता  |  असोज २०, २०७७


तुलसीपुर । प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । प्रदेश सभाका कूल ८७ सदस्य रहेकोमा मंगलवार भएको मतदानमा ८२ मत खसेको थियो । खसेको मतमध्ये प्रदेश राजधानी दाङको भालुवाङ बनाउने पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । जनता समाजवादी पार्टी नेपालका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मतदानमा भाग लिएनन् ।


विपक्षीदल नेपाली काँग्रेसले विपक्षमा मतदान गरेका छन् । काँग्रेसका १९ मध्ये ५ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् । जसमा राजधानीको विषयमा सहमती नजुटेपछि सभामुख पुर्ण बहादुर घर्तिले मतदान प्रक्रिया सुरु भएको जानकारी गराएका थिए । यस्तैगरी प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ । प्रदेशसभाको मंगलवार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नामलुम्बिनी राख्ने निर्णय गरेको हो ।
प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन् । लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिएका छन् । प्रदेशको राजधानी र नामको प्रस्ताव संसोधनका लागी कांग्रेस र जसपाले छुट्टाछुट्टै प्रस्ताब दर्ता गराएका थिए । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले गएको शुक्रवार सरकारको तर्फबाट प्रदेश सभामा राजधानी र नामाकरणको प्रस्ताव पेश गरेका थिए ।


पाटीको ह्वीप नमान्ने सांसदहरु

प्रदेश पाँचको स्थायी राजधानी र नामाकरण छनोट गरी प्रदेश सभामा पेश भएको प्रस्तावको पक्ष बिपक्षमा राजनितिक दलहरुले आ. आफनो पार्टीका सांसदहरुलाई ह्वीप जारी गरे । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफना ६१ जना सांसदलाई प्रस्तावको पक्षमा मतदान गरी पारित गराउन ह्वीप जारी गरेको थियो । सोहि अनुसार सांसदहरुले मतदान गरे ।


तर प्रतिपक्ष दल कांग्रेसले पनि आफना सांसदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी ग¥यो ।यद्यपी कांग्रेसका तर्फबाट केहि सांसदहरुले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।यसरी मतदान गर्नेमा दाङबाट निर्वाचित कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी, मो याकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका छन्। यस्तै कांग्रेस सासद सुरेन्द्र हमाल अनुपस्थित थिए ।प्रदेश १९ जना कांग्रेसका सांसद मध्ये १३ जनाले मात्रै विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस