भालुवाङकाे पक्षमा कांग्रेसका केन्द्रीय नेताहरू

खबरशाला संवाददाता  |  असोज १, २०७७

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरूले प्रदेश नम्बर ५ सरकारले प्रस्ताव गरेको प्रदेशको नाम र राजधानीको समर्थन गरेका छन्।

सोमबार कांग्रेसका १० जना नेता तथा सांसदहरूले संयुक्त विज्ञप्ति निकालेर प्रदेश नम्बर ५ प्रदेशको नाम लुम्बिनी र केन्द्र दाङ देउखुरीको भालुवाङ तोक्ने सरकारको निर्णयको स्वागत तथा समर्थन गरेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर, केन्द्रीय सदस्य तथा प्रतिनिसभा सदस्य पार्वती डिसी चौधरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपाल दहित, केन्द्रीय सदस्य मंगलप्रसाद थारुले सरकारको निर्णयको स्वागत गरेका हुन्। 

यस्तै केन्द्रीय सदस्य योगेन्द्र चौधरी, केन्द्रीय सदस्य शिला खड्का, आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, नेपाली कांग्रेस बर्दिया जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य सञ्जय गौतम र तथा रोल्पा सभापति तथा पूर्व राज्यमन्त्री अमरसिंह पुनले विज्ञप्ति निकालेर संघीयताको मर्म र भावना अनुसार प्रदेश नम्बर ५ ले सबैलाई सुविधाजनक र दूरीको हिसावले समेत उपयुक्त स्थान छनोट गरेकाले त्यो प्रस्तावप्रति आफूहरूको पूर्ण समर्थन रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिमा यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरूले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य नगर्न समेत आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस