प्रदेश नम्बर ५ सभामा भयाे वितण्डा

खबरशाला संवाददाता  |  असोज १, २०७७

बुटवल-प्रदेश ५ को स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रदेश सभामा तनाब सिर्जना भएको छ।

प्रदेश सभामा सरकारले पेश गरेको प्रस्तावमाथि थप छलफल र सहमतिका आधारमा अघि बढाउन माग गरेको कांग्रेसको कुरा नसुनेको भन्दै कांग्रेसले सदन अवरोध गरेको थियो।

कांग्रेसको सदन अवरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाएपछि कांग्रेस सांसदहरु तोडफोडमा उत्रिए। सत्तापक्षले बलजफ्ती बैठक अघि बढाउने प्रयास गर्दा सदनमा तनाब सिर्जना भएको हो।

मध्यान्ह १२ बजे बोलाइएको बैठक दिउँसो १ बजेपछि मात्रै शुरु भएलगत्तै कांग्रेसले सदनमा नाराबाजी गर्दै सदन अवरोध गरेको थियो। सदन अवरोध गर्दै कांग्रेस दलका नेता विरेन्द्र कनौडियाले सरकारले ल्याएको प्रस्तावमाथि सर्वदलीय छलफल गरेर अघि बढाउन र केहीदिनका लागि प्रस्ताव अघि नबढाउन माग गरेका थिए।

उनले आफ्ना कुरा राखेलगत्तै कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए।नाराबाजीपछि सभामुखले बैठक स्थगित गरेका थिए। २ घण्टासम्म पनि कुनै सहमति नजुटेपछि चलेको सदनमा कांग्रेस र समाजवादी पार्टीले पुनः अवरोध गरेका थिए।

अवरोधका बीच सभामुख पूर्ण बहादुर घर्तीले प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई समय दिएपछि कांग्रेस र समाजवादीका सांसदहरुले केसीको हातबाट प्रस्ताव खोस्ने प्रयास गरेका थिए।

प्रस्ताव पेश गर्नेक्रममा नाराबाजी नरोकिएपछि मन्त्री केसीले मर्यादापालकलाई ‘घिसारेर बाहिर निकालिहाल्’ भन्ने आदेश दिएपछि कांग्रेस सांसदहरु झनै आक्रोशित भएका थिए।

विरोधकै बीच बैठकमा केसीले छलफलका लागि प्रस्ताव पेश गरेपछि कांग्रेस सांसदहरु तोडफोडमा उत्रिएका थिए। कांग्रेस सांसदले प्रदेश सभाका कुर्सी र माइक तोडफोड गरेका छन्।

तोडफोडकैबीच बोलेका नेकपाका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारको प्रस्ताव सही ढंगले प्रस्तुत नभएको र जनभावनाको कदर नभएको बताएका थिए। उनले विशेष समितिले विकल्पसहित दिएको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग गर्दै संसदलाई मर्यादित तरिकाले अघि बढाउन सभामुखसँग माग गरेका थिए।

उनले माग गर्दागर्दै सभामुखले दिएको ५ मिनेट सकिएको भन्दै उनको माइक काटिएपछि उनले त्यसको पनि विरोध गर्दै झण्डै १० मिनेट हात उठाएरै विरोध जनाइरहेका थिए।

उनीसँगै सत्तारुढ दलकै कृष्ण न्यौपाने, तुल्सी चौधरीलगायतका सांसदहरुले आफूहरुले बोल्नका लागि नाम टिपाएको भन्दै समय माग गर्दा पनि सभामुखले उनीहरुलाई समय दिएनन्।

नेकपाका विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने भन्दै सरकारको प्रस्ताव सच्याउनु पर्ने माग गरे। राष्ट्रिय जनमोर्चाकी तारा जिसीले स्थायी राजधानीको विषमा रूपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र संघीयताको देशभरको फिल्म देख्न बाँकी रहेको बताइन्।

सांसदहरु हरिप्रसाद रिजाल, सहषराम यादवलगायतले बोल्दै राजधानीको नाममा समर्थन जनाएका थिए। संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। प्रदेश सभामा राजधानी दाङ सार्ने प्रस्ताव पेश भएलगत्तै रुपन्देहीमा आन्दोलन चर्किएको छ।

प्रतिक्रिया दिनुहोस