जाेखिम माेलेर जनताकाे सेवामा लागिरह्यौ

नन्दनी राेका  |  असोज १४, २०७७


नन्दनी रोका
तुलसीपुर ।
कोभिड १९ ले शिक्षा,स्वास्थ्य,खाद्य कृषि र आवासमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने सवालमा तुलसीपुरमा सरोकारवालाका विचमा छलफल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र मानव अधिकार समुहको सहकार्य र औपचारिक क्षेत्र सेवा केन्द्रको आयोजनामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा शिक्षा,स्वास्थ्य,खाद्य र आवासमा पारेको प्रभाव र त्यसको न्युनिकरणमा स्थानीय सरकारले गर्न नसकेका कुराहरुको बारेमा चर्चा गर्दै सरोकारवालाको जवाफ समेत लिइएको थियो ।
कार्यक्रमका शिक्षा क्षेत्रका विभिन्न सवालहरुको बारेमा जवाफ दिदै विद्यालय निरिक्षक मानबहादुर खड्काले कोभिड १९ ले शिक्षामा पारेको प्रभाव र न्यूनिकरणका सवालमा सिकाई सहजीकरणमा अहिले ५० हजार विद्यार्थीहरुलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर सिकाईलाई सहज पार्दे लगेको जानकारी दिए । त्यसैगरी सामुदायिक विद्यालयहरुमा १ देखि ५ कक्षासम्म निशुल्क शिक्षा प्रदान गरिएको समेत उनले वताए । रेडियो शिक्षा र कार्यमुलक पुस्तिका वितरण लगायतका काम गरिएको समेत उनको भनाई रहेको थियो । पछिल्लो समय पाठ्यपुस्तकहरु समयमै आएको तर कोभिड १९ ले गर्दा समयमै वितरण गर्न सम्भव नभएको उनको भनाई रहेको थियो ।


कोभिड १९ ले स्वास्थ्य पारेको प्रभावबारे स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी गराएका थिए । उनले तुलसीपुरमा स्वास्थ्यकर्मी र कर्मचारीको सक्रिय सहभागिताका कारण कोरोना धेरै फैलन नसकेको समेत वताए । उनले विरामीलाई घरमै औषधि वितरण, निशुल्क एम्बुलेन्स सेवा लगायतका नमुना योग्य काम गरेको पनि जानकारी दिए । ‘सुत्केरीको स्वास्थ्य अवस्था सोध्दै घरघरमा अण्डा लगेर समेत पुगेका थियौ’ न्यौपानेले भने ।


कृषि शाखाका प्रमुख धनराज गौतमले कोभिड १९ को समयमा किसानहरुको तरकारीले बजार पाएको वताए । स्थानीय तहमा फलेको तरकारीको किसानले उचित मुल्य पाउनुका साथै र बाँझो जग्गा समेत व्यवस्थापन भएको उनको भनाई थियो । कृषि वा खाद्य क्षेत्रमा परेको प्रभावलाई न्यूनिकरण गर्न सरकार मात्र नभएर किसानहरु पनि आफै सचेत हुनु पर्नेमा उनले जोड दिइएका थिए । कोभिडको असर किसानहरुमा नपरोस् भन्नका लागि शाखाले विभिन्न खालका अनुदान कार्यक्रम समेत अगाडी वढाएको उनको भनाई थियो ।


व्यवस्थित वस्ति विकास शाखाका प्रमुख हिमाल शर्माले सबैलाई टिनको छाना लगाईदिने स्थानीय सरकारको नीति अनुसार यसैवर्ष ४ सय १८ घरमा टिनका छाना वितरण गरिएको जानकारी दिए । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख विष्णु आचार्यले पनि महिला हिंसा अन्तर्गत घरेलू हिंसा,यौन हिंसा र बालबालिको विषयमा गम्भिर भएर लागेको बताइन् ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय महासचिव सुसील बस्नेत लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजिकरण विनोद के.सीले गरेका थिए । कार्यक्रमको अध्यक्षता मानव अधिकार समुह अध्यक्ष दोलख खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस