दुर्घटना न्यूनीकरणका लागि सामुहिक पहल आवश्यक

चन्द्रप्रकाश नेपाली  |  असोज १४, २०७७


चन्द्रप्रकाश नेपाली

घोराही । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न सरोकारवालाहरुको सामुहिक सहकार्य आवश्यक रहेको बताएको छ । ट्राफिक प्रहरीले एक्लै यसको व्यवस्थापन र दुर्घटना न्यूनिकरणको विषयमा काम गरेर नहुनेभन्दै यो समस्या साझा भएकाले सबैको एकीकृत पहल आवश्यक रहेको बताएको हो ।

प्रदेश ट्राफिक कार्यालय रुपन्देहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा प्रमुखको जिम्मेवारी पाएर आएका प्रहरी निरीक्षक थम्मन जिसीले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै सामुहिक प्रयासबाट ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण हुने बताए । आम नागरिकहरुलाई ट्राफिक नियमको बारेमा सचेतना फैलाउन सञ्चार माध्यमको भूमिका अहम रहने भन्दै उनले पत्रकारहरुलाई निरन्तर सुझाव र खबरदारीमा जोड दिन समेत आग्रह गरे ।

सवारी साधनको चाप बढ्दै गएकाले सडकलाई सुरक्षित बनाउने र चालक तथा यात्रुहरुलाई ट्राफिक नियमको अनिवार्य पालना गराउन सके दुर्घटना रोकिने उनको भनाई छ । उनका अनुसार यस आर्थिक बर्षको दुई महिनामा दाङमा भएका २९ वटा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८४ जना घाइते भएका छन् । यो संख्या धेरै रहेको भन्दै उनले यसलाई न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरुदेखि ट्राफिक नियमको कडाईमा गर्ने बताएका हुन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले आफुहरुले सचेतना मुलक कार्यक्रम गर्ने र त्यसका लागि ट्राफिक प्रहरीलाई सवैको सहयोग आवश्यक रहेको बताए । सचेतनामुलक कार्यक्रम गर्दापनि अटेरी गरेर ट्राफिक नियमको उलंघन गरेमा कारवाही गर्ने ट्राफिक प्रमुख जिसीले बताए ।

उनले ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने समेत बताएका हुन् । भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख जिसीले ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोर भएर दुर्घटनाको जोखिम बढेको भन्दै यसलाई रोक्न आफु लागी पर्ने बताए । यस्तै ‘शहरी क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको र तत्काल सडक निर्माणको काम भैरहेकाले राख्न समस्या हुन बताए ।

सडक निर्माणको काम भैसकेपछि सडकमा ट्राफिक संकेत राखिने उनले बताए । सहरीक्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले दाङका पत्रकार र सञ्चार माध्यमहरुले ट्राफिक व्यवस्थापन र दुर्घटना रोक्ने सवालमा सहयोगी भूमिका निभाउदै आएको बताएका हुन् । बढ्दो सवारी दुर्घटना रोक्न सञ्चार क्षेत्रले सचेतना जगाउने, सरोकारवाला निकायलाई खबरदारी गर्ने विषयमा सधै आवाज बुलन्द पार्ने उल्लेख गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, प्रदेश सचिव सन्तोष दहित, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके सितललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीरकणमा ध्यान दिन आग्रह गरेका हुन् । कार्यक्रमको सहजीकरण ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता उत्तम जिसीले गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस