पहाडी जिल्लामा चामल पठाउदै तुलसीपुर खाद्य कार्यालय

खबरशाला संवाददाता  |  असोज १३, २०७७

तुलसीपुर, १३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङले साविक मध्यपश्चिमका केही पहाडी जिल्लाहरुमा चामल पठाउने अन्तिम तयारी पूरा भएको जानकारी दिएको छ ।

नजिक आइरहेका हिन्दुहरुको महान चाडहरु दशैं–तिहारलाई मध्यनजर गर्दै एक÷दुई दिनभित्रै चामल पठाउने तयारी भइरहेको कार्यालयका स्टोर किपर नहकुल चौधरीले जानकारी दिए ।

उनका अनुसार डोल्पाका लागि दुई ट्रक चामल लोड भइसकेको छ । ‘त्यो चामल सम्भव भए आज र नभए भोलिसम्म यहाँबाट जान्छ,’ चौधरीले भने । डोल्पा र जाजरकोट जिल्लाका लागि मंगलवार ढुवानीको ठेकेदारको समयाअबधि सकिने तथा तत्काल चामल ढुवानी हुने चौधरीले जानकारी दिए ।

मुख्य शाखा कार्यालय तुलसीपुरबाट डोल्पा, जाजरकोट, रुकुम पश्चिम, रुकुमपूर्वलगायतका जिल्लाहरुमा खाद्यले चामल पठाउँदै आएको छ । स्टोर किपर चौधरीका अनुसार यो वर्ष डोल्पाका लागि ९ सय क्वीन्टल चामलको कोटा रहेको छ । त्यसमध्ये दुईवटा ट्रकमार्फत ३ सय ४० क्वीन्टल चामल पठाउने तयारी भइरहेको उनले बताए ।

खाद्यान्नले बेच्ने चामल बजार मूल्यभन्दा केही सस्तो मूल्यमा सर्वसाधारण उपभोक्ताले खरिद गर्न पाउँछन् । तुलसीपुरमा मोटो चामलप्रति क्वीन्टलको ४५ सय, जिरा मसिनो ५६ सय र जापानीज चामल प्रतिक्वीन्टल ४७ सयमा बिक्री हुने गरेको चौधरीले जानकारी दिए ।

तर, ढुवानीका कारण पहाडी जिल्लाहरुमा पुग्ने त्यही चामल केही महंगो पर्ने चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस