‘एसिड छ्याप्नेहरु २० वर्ष जेल बस्नुपर्छ ’

खबरशाला संवाददाता  |  असोज १२, २०७७

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने गरी नयाँ अध्यादेश आएको बताएकी छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुने प्रावधानसहितको अध्यादेश जारी गरेको बताउँदै मन्त्री तुम्बाहाम्फेले कानुनमा आक्रमणकारीलाई २० वर्ष सजाय तोकिएको र २० वर्ष नै सजाय काट्नुपर्ने बताइन् ।

‘कुनै पनि व्यक्तिको शरीरमा एक थोपा वा दुई थोपा मात्रै परे पनि कडा कारबाही हुन्छ, तेजाब आक्रमण गर्नेलाई एक सेकेण्ड पनि कैद छुट हुने प्रावधान छैन । आक्रमणकारी कुनै पनि हालतमा २०  वर्ष जेलमा बस्नैपर्छ’, मन्त्री तुम्बाहाम्फेले भनिन् ।

महिला वा पुरुष दुवैमाथि हुने तेजाब आक्रमणलाई न्यूनीकरण गर्न कानुन ल्याइएको उल्लेख गर्दै उहाँले तेजाब आक्रमण गरेको जतिसुकै समय पछाडि पनि उजुरी दिन सक्ने प्रावधान रहेको बताइन् । आक्रमणमा परेपछि जुनसुकै मितिमा उजुरी दिए पनि त्यो मुद्दालाई प्राथमिकताका आधारमा सुनुवाइ गर्ने व्यवस्था गरिएको मन्त्री तुम्बाहाम्फेको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘मुद्दा फिर्ता लिने प्रावधान छैन, माफी मिनाहा पनि हुँदैन, कैद कट्टा पनि हुँदैन, जति तोकियो त्यति समय नै जेलमा बस्नुपर्छ ।’

यस्तै अभियन्ता उज्ज्वल थापाले एसिड आक्रमणलाई गम्भीर अपराधका रुपमा व्याख्या गर्दै सरकारले कानुन बनाएर दक्षिण एसियामै गर्व गर्न लायक काम गरेको बताइन् । छिमेकी देशको तुलनामा नेपालमा एसिड आक्रमणका घटना कम भए पनि सरकारले कडा कानुन ल्याएर प्रशंसनीय काम गरेको थापाको भनाइ छ । 

‘सरकारी तथ्याङ्कअनुसार नेपालमा १७ वटा घटनामा १९ जना पीडित भएका छन्, यो सङ्ख्या छिमेकी देशहरुको तुलनामा कमी हो तर पनि सरकारले यस्तो कडा कानुन बनाएको छ, त्यसमा म नेपाल सरकारप्रति कृतज्ञ छु’, अभियन्ता थापाले भनिन् । 

उहाँले एसिडको घरायसी प्रयोग नभएकाले पूर्णरुपमा बिक्री बन्द गर्नुपर्ने बताउनुभयो ।  तर उद्योगको आवश्यकताअनुसार प्रयोग गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनकाे भनाई छ ।

नेपालमा जतिसुकै कडा कानुन बने पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको उल्लेख गर्दै अभियन्ता थापाले कार्यान्वयनको पक्षमा विशेष जोड दिन सरकारलाई आग्रह गरिन् ।  

प्रतिक्रिया दिनुहोस