दाङमा कोरोना रोकथामका लागि १५ करोडभन्दा धेरै खर्च, उपमहानगरभन्दा गाउँपालिकाको खर्च धेरै

चन्द्रप्रकाश नेपाली  |  असोज ११, २०७७  |  ७२४ पटक पढिएको
तुलसीपुरमा क्वारेन्टाईन बनाईएकाे गुरुजजुर मावि
फाईल फाेटाे

चन्द्रप्रकाश नेपाली

तुलसीपुर । दाङमा कोरोना रोकथामका लागि १५ भन्दा धेरै खर्च भएको छ । नेपालमा कोरोना भाईरसको महामारी सुरुदेखि गत आर्थिकवर्षको असार मसान्तसम्म दाङका दश स्थानीय तहले कोरोना व्यवस्थापनका लागि १५ करोडभन्दा धेरै खर्च गरेका छन् । दाङका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै ३ करोड १३ लाख राजपुर गाउँपालिकाले र सबै भन्दा थोरै दंगीशरण गाउँपालिकाले ३८ लाख ८३ हजार रुपैया खर्च गरेका हुन् ।

गत चैत्र ११ गतेदेखि लकडाउन सुरुभए यता क्वारेन्टाईन निर्माण तथा व्यवस्थापन, आईसोलशन निर्माण तथा व्यवस्थापन, भारतमा रहेका नेपालीको ओसारपोसार, राहत वितरण, हेल्थ डेष्क स्थापना, स्वास्थ्य सामाग्री खरिद, एम्वुलेन्स सञ्चालन तथा व्यवस्थापन, क्वारेनटाईन र आईसोलेशनमा बसेका नागरिकलाई खाना तथा खाजाको व्यवस्थापना, शव व्यवस्थापन सामाग्री खरिद, जोखिम मोलेर स्वास्थ्य सेवामा खटिने स्वस्थ्यकर्मीलाई भत्ता तथा बिमाजस्ता शीर्षकमा १५ करोड १२ लाखभन्दा धेरै रकम खर्च भएको छ ।

असार ३१ गतेसम्म ६ सय ३० जनामा संक्रमणपुष्टि हुँदा दाङका १० स्थानीय तहले १५ करोड १२ लाख ७१ हजार ३ सय ५९ रुपैया खर्च गरेका हुन् ।

असारमसान्तसम्म १७ जनामा मात्रै संक्रमण पुष्टि भएको राजपुर गाउँपालिकाले सबैभन्दा धेरै ३ करोड १३ लाख ५९ हजार ५ सय ३४ रुपैया खर्च गरेको छ भने ३ जनामा संक्रमण देखिएको दंगीशरण गाउँपालिकाले सबैभन्दा थोरै ३८ लाख ८३ हजार २ सय १५ रुपैयामात्रै खर्च गरेको छ ।

यस्तै असार मसान्तसम्म सबैभन्दा धेरै २ सय ७० जनामा संक्रमण देखिएको घोराही उपमहानगरपालिकामा २ करोड ४७ लाख ८९ हजार २ सय ९ रुपैया खर्च भएको छ । उपमहानगरले कोरोना विशेष अस्पताल निर्माण तथा व्यवस्थापनमा मात्रै १७ लाख ८० हजार रुपैया खर्च गरेको छ ।

यस्तै घोराहीले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा २२ लाख ३४ हजार १ सय ३९, क्वारेन्टाईनमा बसेकालाई खाना खर्च ४ लाख ४२ हजार ४ सय ६, आईशोलेशन निर्माण तथा व्यवस्थापनमा १५ लाख ५५ हजार १ सय ४४, आईशोलेशनमा बसेकालाई खाना खर्च १६ लाख ४० हजार ४ सय २१ रुपैया खर्च भएको छ ।

यस्तै असार अन्तिमसम्म ४९ जनामा संक्रमण देखिएको तुलसीपुर उपमहानगरपालिकाले २ करोड १ लाख २२ हजार रुपैया खर्च गरेको छ । तुलसीपुरले क्वारेन्टाईन निर्माण तथा ब्यवस्थापनमा मात्रै ९९ लाख ९४ हजार रुपैया खर्च गरेको छ ।

यस्तै राहत वितरणमा ८८ लाख ९५ हजार, हेल्थ डेष्क स्थापना तथा सञ्चालनका लागि १ लाख ५४ हजार रुपैया खर्च गरेको छ ।

तुलसीपुरपछि गढवा गाउँपालिकामा कोरोना व्यवस्थापनको लागि १ करोड ५२ लाख ९४ हजार ६ सय ८६ रुपैया खर्च गरेको छ ।

यस्तै गत आर्थिक वर्ष २९ जनामा संक्रमण देखिदा राप्ति गाउँपालिकाले १ करोड ३९ लाख ५५ हजार ४ सय ७ रुपैया खर्च गरेको छ भने १६ जना संक्रमित फेला परेको शान्तिनगर गाउपालिकाले १ करोड ३१ लाख रुपैया रुपैया खर्च गरेको छ ।

यस्तै १ सय ३४ जनामा संक्रमण देखिएको बंगलाचुली गाउँपालिकाले १ करोड ८ लाख रुपैया खर्च गरेको छ ।

कोरोना व्यवस्थापनका लागि रकम खर्च गर्ने स्थानीय तहको आठौँ स्थानमा रहेको लमही नगरपालिकाले गत आर्थिक वर्षमा २५ जनामा संक्रमण देखिदा १ करोड ७ लाख ७ हजार ६ सय ९ रुपैया खर्च गरेको छ । यस्तै बबई गाउँपालिकाले १५ जनामा संक्रमण देखिदा असारमसान्तसम्म ७२ लाख ५९ हजार ६ सय ९९ रुपैया खर्च गरेको छ ।

खर्च व्यवस्थापनमा जटिलता


संघीय र प्रदेश सरकारबाट कुनै पनि आर्थिक सहयोग नहुँदा स्थानीय सरकारलाई खर्च व्यवस्थापनमा निकै कठिनाई भएको गुनासो गरेका छन् । आर्थिक वर्षको अन्तिम चौमासिकको काम सुरु गर्न लागेको बेलामा अचानक कोरोनाको महामारी आएकाले पालिकाहरुलाई आर्थिक व्यवस्थापनमा निकै कठिनाई भएको हो ।

‘केन्द्र सरकारले निर्देशन बाहेक केही गरेन, प्रदेशले पनि अस्पताल व्यवस्थापन बाहेक अन्य कुृरामा सहयोग गर्न सकेन’ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस