तत्काल विद्यालय नखोल्न शिक्षामन्त्री पोखरेलको आग्रह

रासस  |  असोज १०, २०७७

तुलसीपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले तत्काल विद्यालय नखोल्न आग्रह गरेका छन्। उनले वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन पनि आग्रह गरेका छन्।

शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा उनले शिक्षालयमा सङ्क्रमण देखिए नियन्त्रण गर्न कठिन हुने भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरे। न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई असोज पहिलो साताबाटै कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्न निर्देशन गरिएको पनि बताए।

उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापित गर्न सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सीयूजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए। कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन्।

सञ्चारविद् डा. निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गरे। मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने उनको भनाइ छ। सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न उनले सुझाव दिए।

आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश–२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए। पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको अध्ययनले देखाएको छ।

उनले आसमान नेपालले समुदाय तहमा युवाहरुलाई स्वयंसेवी रुपमा परिचालन गरेर करीब १० हजार बालबालिकालाई स्वअध्ययन सामग्री वितरण गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस