मन्त्रिमण्डल पुनर्गठन तयारी, मन्त्री पनि सचिवालयबाटै तोकिने

खबरशाला संवाददाता  |  असोज ०४, २०७७

सत्तारूढ नेकपाले पार्टीको सचिवालय बैठकबाटै मन्त्रिमण्डल पुनर्गठन र मन्त्री बन्ने व्यक्तिबारे निर्णय गर्ने भएको छ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सचिवालयले निर्णय गरेरै संघीय र प्रदेश सरकारका मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा सुझाव दिएको एक नेताले जानकारी दिए।

‘अब मन्त्रिमण्डल पुनर्गठन गर्दा नाटकीय परिवर्तन आउने र देशमा एउटा सन्देश दिनेगरी गर्नुपर्छ,’ ती सचिवालय सदस्यले भने, ‘नयाँ, पुराना, क्षेत्रीय, जातीय, भुगोल, लैङ्गिकलगायत पक्षलाई मिलाएर समान अवसर दिनेगरी गर्नुपर्छ भन्ने सबैको सुझाव छ, यी सुझावमा दुबै अध्यक्ष सहमत हुनुहुन्छ।’

ती सदस्यका अनुसार बढिमा एक हप्ताभित्र मन्त्रिमण्डल पुनर्गठन हुने लगभग सहमति बनेको छ।

‘भोलि पनि बैठक बस्छ, नीतिगत कुरा सकिएको छ, अब प्राबिधिक विषय टुंगो लगाएर मन्त्री बनाउने नाम तय गर्छाैं र सचिवालयले नै नाम तोक्छ,’ ती नेताले बताए।

‘वामदेवको नियुक्तिले गलत सन्देश’
ती सचिवालय सदस्यका अनुसार बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएपछि आमजनतामा राम्रो सन्देश नगएको, अनावश्यक विवाद सिर्जना भएको कुरा उठेको थियो।

‘अब मन्त्री बनाउने विषयबारे पनि धेरै सोच्नपर्ने छ,’ बैठकमा भएको छलफलबारे उनले भने।

त्यो कुरा बैठकमा कसले उठाएको भन्ने बारेमा भने ती नेताले खुलाउन चाहेनन्।

पार्टीको सिफारिसका आधारमा भदौ २९ गते सरकारले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो। सोहिअनुसार राष्ट्रपतिबाट गौतम उपल्लो सदनको सदस्य नियुक्त भइसकेका छन्।

४ घन्टाको बैठक
जनवर्गीय संगठनकाे कार्यालय रहेको पेरिसडाँडामा पहिलोपटक बसेको पार्टी सचिवलय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी मात्र भएनन् पुरै समय बसेका थिए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा गठन भएपछि प्रधानमन्त्री ओली त्यहाँ पुगेकाे याे दोस्रोपटक हाे।

यसअघि बालुवाटारमै हुने बैठकमा पनि पुरै समय विरलै बस्ने गरेका प्रधानमन्त्री ओली पेरिसडाँडामा आयोजित पहिलो बैठकमा भने अन्तिमसम्म बसेका थिए।

स्रोतका अनुसार बैठकस्थल प्रवेश गर्नेबित्तिकै त्यहाँको व्यवस्थापन देखेर प्रधानमन्त्रीले ‘बैठक कक्ष गजब बनेछ,’ भनी टिप्पणी गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बसेको हो।

बैठक पार्टी कार्यालयको सबैभन्दा माथिल्लो तलामा राखिएको थियो भने कार्यालय र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

मुख्य गेटबाट सचिवालयका सदस्य, उनीहरुका स्वकीय सचिवहरुबाहेक अरुलाई प्रवेश निषेध गरिएको थियो। दोस्रो तलादेखी बैठकस्थलमा सचिवालय सदस्यबाहेकलाइ जान रोकिएको थियो।

२९ महिनापछि नेताहरूको जमघट
पेरिसडाँडामा नेताहरूको जमघट भने २९ महिनापछि भएको हो। २०७५ जेठ ३ गते पार्टी एकता गरेपछि सो कार्यालयमा यसरी शीर्ष तहका नेताहरूको बैठक भएको थिएन।

पार्टीका जनवर्गीय संगठनहरुको बैठकमा केही नेता पुगेको भए पनि प्रधानमन्त्री तथा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापासहितको यस्तो बैठक सो कार्यालयमा पहिलोपटक भएको हो।

प्रतिक्रिया दिनुहोस