मन्त्रीमण्डल पुनर्गठन एक साताभित्र: परराष्ट्रमन्त्री ज्ञवाली

खबरशाला संवाददाता  |  असोज ०२, २०७७

तुलसीपुर। परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अबको एक साताभित्र मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् । प्रेस संगठन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यमूल्यांकनका आधारमा मन्त्रीमण्डल पुनर्गठन गर्ने बताए ।

उनले पाटीभित्रको सन्तुलनसमेत मिलाउँदै र सरकारको कामलाई प्रभावकारी गराउने गरी मन्त्रीमण्डल पुनर्गठन हुने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेशको मन्त्रीमण्डल समेत पुनर्गठन हुने बताए । उनले मुख्यमन्त्री फेरबदल नगरी प्रदेशको मन्त्रीमण्डल पुनर्गठन गरिने बताए ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पुर्ननियुक्ती कानुनअनुसार गर्न नमिल्ने बताए । घिसिङको कामप्रति सरकार सन्तुष्ट रहेको तर पुर्ननियुक्त गर्न कानुनले नदिने बताए । 

कुलमानको नियुक्तिमा ऊर्जामन्त्री बर्षमान पुन र प्रधानमन्त्रीबीच असन्तुष्टि बढेको भनेर आएका समाचारमा कुनै सत्यता नरहेकोसमेत उनले स्पष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले कालापानी/लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसँगको कुटनैतिक पहलमा फिर्ता गर्ने कार्यको प्रारम्भ भएको बताए ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्चस्तरमा यस विषायमा छलफल सुरु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस