प्रदेश ५ का ६ जिल्ला अस्पताललाई स्तरोन्नति गर्ने निर्णय

खबरशाला संवाददाता  |  असोज ०२, २०७७

तुलसीपुर । प्रदेश- ५ सरकार मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जिल्लास्तरका ६ वटा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । बैठकले रूकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

जसका लागि बैठकले  भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

त्यस्तै, बैठकले शव बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिकालाई शव वाहन खरिदका लागि ९० लाख रुपैयाँ उपलब्ध गराउने बैठकले निर्णय गरेको हो ।

त्यसैगरी, संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिस बैठकले स्वीकृत गरेको छ । पदक प्राप्त गर्नेहरूको नाम ३ असोजमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने सरकारका प्रवक्ता चौधरीले बताए । यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो । बैठकले नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारौँ तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस