कक्षा ११ मा कलेजहरू ‘संकाय’मै भर्ना लिँदै

खबरशाला संवाददाता  |  भदौ २, २०७७


तुलसीपुर । सरकारले यसै वर्षदेखि कक्षा ११ को संकाय हटाएर पढाउन भनिसकेको छ । तर, कलेजहरूले भने धमाधम संकायमै भर्ना लिन थालेका छन् । यसपटक कोरोना भाइरस संक्रमणका कारण एसईई परीक्षा हुन पाएन । विद्यार्थीलाई स्कुलले आफै मूल्याङ्कन गरेर ग्रेडिङ गरेका छन् ।
सोही आधारमा ‘उच्च मावि’ हरूले विद्यार्थी भर्ना लिइरहेका छन् । तर, सरकारी नीतिअनुसार उच्च मावि खारेज भइसकेका छन् । अब १२ सम्मै माध्यमिक तह मानेर पढाइ हुनुपर्ने हो ।


कलेज सञ्चालकहरूले भने सरकारले तयारी नगरेरै जबर्जस्ती गरेको आरोप लगाएका छन् ।पाठ्यक्रम विकास केन्द्रले असोज १ गतेबाट कक्षा ११ को नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक कार्यान्वयनमा आउने भनिसकेको छ ।


उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका केन्द्रीय सचिव रमेश सिलवालले सरकारद्वारा कार्यान्वयनमा ल्याउन लागिएको पाठयक्रम ‘व्यावहारिक’ नभएको बताउँछन् ।


‘खै त किताब छापेको?, शिक्षकहरूलाई तालिम दिएको खै?, लेखकहरूलाई सार्वजनिक रूपमा किताब लेख्न जानकारी दिएको खै?,’ सरकारलाई सिलवालले प्रश्न गरेका छन् ।
उनले कहिले विद्यालय खुल्ने, कहिले भर्ना लिने केही टुङ्गो नभएको अवस्थामा हचुवाभरमा पाठ्यक्रम कार्यान्वयन गर्न लागिएको आरोप लगाए ।


सरकारले कक्षा ११ र १२ लाई विद्यालय तह अन्र्तगत राखेपछि पाठ्यक्रम विकास केन्द्रले नयाँ पुस्तकको तयारी गर्दै आएको थियो । यो वर्षदेखि ‘सिङ्गल ट्रयाक सिस्टम’ लागू गरी ११ कक्षादेखि संकाय नै हटाउने निणर्यसहित केन्द्रले पाठ्यक्रम बनाएको हो ।


केन्द्रका प्रवक्ता गणेश भट्टराईले अब विद्यार्थीहरूले संकाय रोज्नुको साटो विषय रोजेर पढ्नुपर्ने बताए । पहिलेको संकायमा विज्ञान, मानविकी र व्यवस्थापन संकाय लिएर पढ्थे । अब ती सबै संकायका विषय एकै ठाउँमा राखिएको छ,’ उनले भने, ‘अब विद्यार्थीलाई जुन विषय पढ्न मन लाग्छ त्यही लिएर पढ्न पाउनेछन् ’


अबको नयाँ शैक्षिक नियमअनुसार विद्यार्थीले तीनवटा अनिवार्य विषय र तीनवटा ऐच्छिक विषय पढ्नुपर्ने हुन्छ ।


अनिवार्य विषयमा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन राखिएको छ । यसअघि नेपाली र अंग्रेजीमात्रै अनिवार्य गरिएको थियो । बाँकी विषय संकायअनुसार थिए । अब चारवटा समूह बनाएर थुप्रै विषय समेटिएका छन् ।


पहिलो समूहमा फिजिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, साइकोलोजी, इन्स्ट्रक्सनल पेडागोजी एन्ड इभ्यालुएसन, ग्रामीण विकास लेखाविधि, स्वास्थ्य तथा शारीरिक शिक्षा र प्राकृतिक चिकित्सा छन् ।


दोस्रो समूहमा केमेस्ट्री, कम्प्युटर साइन्स, जिओग्राफी, बिजनेश स्टडी, शिक्षा र विकास, समाजशास्त्र, आयुर्वेद, जनसंख्या अध्ययन र नृत्य छन् ।


त्यस्तै, तेस्रो समूहमा बायोलोजी, मार्केटिङ, ऐच्छिक अंग्रेजी, अर्थशास्त्र, पर्यटन तथा पर्वतारोहण, योग, आमसञ्चार र संस्कृति छन् ।

चौथो समूहमा गणित, बिजनेश म्याथम्याटिक्स, वातावरण विज्ञान, बेसिक बिजनेस फाइनान्स र बौद्ध अध्ययन छन् । विद्यार्थीहरुले यी विषयमध्ये तीनवटा छानेर पढ्न पाउँछन् ।


तर, विश्वविद्यालयले नै यो पाठ्यक्रमलाई स्वीकृत नगरेको सिलवालले बताए । ‘हामीले विश्वविद्यालयहरूसँग पनि छलफल गरेका थियौं। उनीहरू पनि यो पाठ्यक्रमलाई कलेज तहमा मान्यता नदिने बताएका छन् ’ उनले भने ।


यस्तो सिस्टम लागू गरिए विद्यार्थीहरूले स्नातक र स्नातकोत्तर पढ्न नपाउने उनले बताए । पाठ्यक्रमले विद्यार्थीलाई अवसर पाउने भनिए पनि विद्यालयको प्रणाली र कलेजको प्रणाली भिन्न भएकाले विद्यार्थीहरू मर्कामा पर्ने र उनीहरूको भविष्य अन्योलमा पर्नसक्ने सिलवालको भनाइ छ ।
कक्षा ११ को भर्ना र प्रवेश परीक्षा अधिकांश विद्यालयले लिइसकेका छन् । सरकारले लागू गर्ने भनेको पाठ्यक्रम न विद्यालयलाई जानकारी भयो न विद्यार्थीलाई ।

सिलवालले विद्यार्थीहरूले पहिले जसरी नै संकाय छनोट गरेको र विद्यालयले भदौ १५ देखि नै अनलाइन कक्षा सञ्चालन गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस