खाद्य संस्थान तुलसीपुरले धान र चिनी खरिद बिक्री गर्ने

खबरशाला संवाददाता  |  भदौ २, २०७७

तुलसीपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर शाखाले यस बर्ष धान र चिनी खरिद गर्ने जनाएको छ ।

खाद्य संस्थाले स्थानीयस्तरबाट १० हजार क्वीन्टल धान खरिद गरेर त्यसबाट चामल निकालेर बिक्री गर्ने कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिएका छन् । उनका अनुसार सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने जनाएको छ । हाल कारागारहरु, रुकुमपूर्व, पश्चिम र डोल्पामा स्थलमार्ग बाट चामल पु¥याउँदै आएको संस्थाले यस बर्ष धान पनि खरिद गर्ने उनको भनाइ छ ।

त्यस्तै हाल विभिन्न प्रकारका चामलहरु उपलव्ध गराउँदै आएको कार्यालयमा अझै पनि ११ सय ९५ क्वीन्टल चामल स्टक रहेको र सो चाम ढुवानी नभएको बताएको छ । हाल कारागारलाई चामल उपलव्ध गराउँदै आएको कार्यालयले ढुवानीको लागि टेण्डर नभएका कारण अन्य क्षेत्रमा भने चाम पु¥याउन सकेको छैन । सो चामल गोदामै थन्किएको छ ।

लकडाउनको समयमा केही चामल बिक्री भएपनि हाल चामल विक्री नभएको बताएको छ । कार्यालयले लकडाउन अवधिमा कारागारलाई ४ हजार क्वीन्टल चामल उपलव्ध गराए पनि अन्ये व्यक्ति र संस्थाले भने किनेका छैनन् । ‘हामीहरुसँग चामल पर्याप्त छ, ढुवानी टेण्डर नभएकाले अन्यत्र पठाएका छैनौं, आवश्यक परे हामीहरुले उपलव्ध गराउने छौ’, प्रमुख मिश्रले भने ।

खाद्य संस्थामा माटो चामल, मध्यम, स्ट्रीम सोना, सोना स्ट्रीम, जापानी चामल हाल स्टक रहेको छ । त्यसैगरी कार्यालय यस बर्ष उपभोक्ताहरुको सहजताका लागि २ सय टन चिनी पनि खरिद गर्ने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ हजार मेट्रिक टन चिनी खरिद गर्न लागेको र त्यसमध्ये २ सय टन चिनी दाङमा ल्याउन लागेको जनाएको छ । अब केही समयमै सो चिनी ल्याउने कार्यालयले जनाएको छ ।

दशै–तिहारलाई मध्यनजर गरी चिनी खरिद गर्न लागेको र सो चिनी सहकारी व्यापारीहरुलाई सुलभ मूल्यमा उपलव्ध गराउने बताएको छ । बजार भाउभन्दा केही सस्तोमा बिक्री गर्ने कार्यालय प्रमुख मिश्रले जानकारी दिएका छन् । ‘हामीहरुले बिक्री गर्ने चिनी बजार भाउभन्दा केही सस्तो हुनेछ’, मिश्रले भने ।

यसैबीच दशै–तिहारका लागि खसी–बोका खरिद गर्दै आएको शाखा कार्यालयले यस बर्ष खसी बोका खरिदका लागि कुनै जानकारी नआएको जनाएको छ । दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा र खसी बोका खरिद गर्न तयारी थालेको छ । घटस्थापनासम्म काठमाडौं ल्याई पु¥याउने गरी १४ सय च्याङ्ग्रा र १६ सय वटा खसी–बोका खरिद गर्ने गरी तयारी गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

कम्पनीको वार्षिक कार्यक्रममा उक्त परिमाणको च्यांग्रा र खसी–बोका आयात गर्न ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याइएको उनको भनाइ छ । यसवर्ष मुस्ताङबाट १४ सय च्यांग्रा तथा दाङको तुलसीपुर र मकवानपुरको हेटौंडाबाट १६ सय वटा खसी किन्ने योजना कम्पनीको छ ।

कम्पनीले खरिद गर्ने च्यांग्रा तथा खसी बोकाको भाउ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिको सिफारिस अनुसार हुनेछ । गत वर्ष दशैंमा संस्थानले ५ सय खसी बोका तथा च्यांग्रा खरिद गरेर सहुलियत मूल्यमा बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस