बालबालिकालाई दया हाेईन अधिकार दिउँ

खबरशाला संवाददाता  |  भदौ २, २०७७  |  १५२ पटक पढिएको

आज वालअधिकार दिवस । सरकारले ‘विपद्मा बालअधिकारको सुनिश्चितताः हामी सबैको प्रतिवद्धता’ भन्ने मुल नाराका साथमा सामाजिक दुरी कायम गरेर दिवस मनाउन अनुरोध गरेको छ । बाल अधिकार दिवसको अवसर पारेर हामीले २५ वर्षदेखि यस क्षेत्रमा अनवरत ढँगले काम गर्दै आउनु भएका बालअधिकारकर्मी नवराज लामिछानेसँग कुराकानी गरेका छौ ।

१. बालबालिकाको क्षेत्रका २५ वर्षको निरन्तर यात्रा कसरी सम्भव भयो ?


सामाजिक अभियानको यात्राको सीमा नै थाहा भएन मलाई यस यात्रामा हिड्नका लागि परिवार,समाज र साझेदार संस्थाहरुले साथ दिनुभयोे । काम गर्ने यूवा जोस जागर, सकारात्मक सोच, समाजसेवी बन्ने रहर अरुलाई सहयोग गर्ने भावनाले अगाडी धकेल्दै गर्दा र बालबालिको सवालहरुको बारेमा हाम्रो राष्ट्र र समाजले पनी चासोको विषयमा स्विकार गर्दै आएकाले २०५१ चैत्र १२ गते देखिको यात्रा यहाँ आजसम्म आई पुगेको छ ।

२. बालबालिकाको मुद्दाले नै कसरी तपाईलाई आकर्षित गर्यो ?


म यूवा अवस्था देखिनै मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्था बोकेको संस्था (जेसीज)मा संलग्न भईरहेको अवस्थामा तुलसीपुरमा १५ जना सामाजिक ब्यक्तित्वले असहाय र अभिभावकविहिन बालबालिको सेवा गर्ने कार्यमा लाग्न सल्लाह गरेर मलाई त्यसबेलामा नै तपाईले नेतृत्व गर्नुपर्दछ भनेर नवजागरण बाल आश्रम नामको संस्थामा अध्यक्षको जिम्मा दिनुभयो । मैले बाल अधिकारको क्षेत्रमा अध्ययन गर्दै पनि अगाडि बढ्ने कोशिस गरेको बेला बालबालिका हाम्रो भबिष्य हुन भन्ने बुझेको हुनाले र मलाई घर, परिवार,समाज संघसंस्थाले पनि सहयोग संगै हौसला प्रदान गरेको हुनाले र देशकाल परिस्थितिले पनि हाम्रो र बाल आवाजलाई स्विकार गर्दै आएको कारणले मलाई यस मुद्दाले आकर्षित गर्ने काम गरेको हो ।

३. बालबालिकाका मुद्दाहरुको सम्बोधन राज्यका तर्फबाट कति हुनसकेको छ ?
मैले जानेको बुझेको म्म बालबालिकाको मुद्दा राज्यबाट पहिला पनि सम्बोधन हुँदै आएको थियो । त्यसबेला बालबालिकालाई कल्याणका पात्र भनेर सेवा दिएको थियो तर आजभोलि बालबालिकाहरु कल्याणका पात्र मात्र होइनन् बरु अधिकारका पात्र पनि हुन भन्ने सवालमा अधिकारवादी र स्वयं बालबालिकाहरुले वकालत गर्दै आइपछि २०४७ साल पछि राज्यबाट पनि बालअधिकारको क्षेत्रका सबै सवालहरुमा राम्रोसंग सम्वोधन गरेको छ तर शतप्रतिशत लागुहुन समय लाग्छ ।

४. बालअधिकारका बारेमा सरोकारवाला मात्रै बोल्ने कि बालबालिकालाई पनि सक्षम वनाउने ?
बालअधिकारको क्षेत्रमा जिम्मेवार पक्ष भनेको बालबालिको जन्मदिने आफ्नो आमा बुवा पहिलो अभिभावक हो । दोस्रो जिम्मेवार भनेका १८ बर्षमाथीका हामी सबै हौं जस्लाई सरोकारवालाहरु भन्ने गरिन्छ । बालअधिकारको संरक्षण क्षेत्रमा संसारका देशमध्ये १९१ राष्ट्रहरुले सन् १९८९ नोभेम्वर २० मा अन्तर्राष्ट्रिय महासम्मेलन गरे त्यसमा सबै राज्यपक्षहरुबाट बालबालिकाको पक्षमा बोल्न थालियो र सरकार प्रमुखहरुले लिखित प्रतिबद्धता जनाएपछिका दिनबाट बालअधिकारको क्षेत्रमा बलियो संस्थागत विकास हुदै आएको पाईन्छ ।

उक्त महासम्मेलनमा बालअधिकार क्षेत्रको प्रमुख ४ पक्षमा कुरा गर्दा बाल सहभागिताको क्षेत्रअधिकार को महत्वपुर्ण पक्षले बालबालिकाहरु पनि आफ्नो आवाज उठाउन सक्षम हुदै गएका छन् । उनीहरुलाई अधिकार प्राप्तिकालागि वोल्न र सक्षम बनाउन हाम्रो साथ सहयोग रहदै आएको छ ,सदैव रहनेछ र उनीहरु सक्षम बन्नेछन् ।


५. सरकारले कानुन वनाएर बालअपराध र हिंसा रोक्न खोजेपनि अवस्था किन त्यस्तो छैन ?


पहिले भन्दा अहिले समाज सहज परिस्थिति भन्दा असहज परिस्थितिबाट गुज्रीरहेको देखेको छु । जसलाई विविध कारणले प्रभाव पारेको हुन्छ । समाजलाई ब्यबस्थित बनाउन मानिसहरुलाई अनुशासन र आचरणसंगै नैतिकवान बनाउन नीति नियम र कानूनहरु निर्माण गरि पालना गर्न लगाइएको हुन्छ । मानिसहरुमा जब अशिक्षा, गरिबी, असमझदारीले घेरावन्दी गर्दछ र नकारात्मक सोच, बदलाको भावनाको विकास संगै दुव्र्यसन र कुलतको नराम्रा प्रभाव पर्दछ त्यसका कारणले नै समाजमा अपराध र हिंसाका घटना बढ्ने गर्दछन् ।


केही घटनाहरु लुकेका र छिपाईएका हुन्छन् खुलेर आउन र ल्याउन सकेको अवस्था देखिदैन । प्रभावित हुनेहरुमा आजभोलि महिला र बालबालिकाहरुनै बढी देखिएका छन् जो प्रति रक्षाका लागि उत्रन सकेका छैनन् । कानूनको कार्यान्वयन पक्षलाई वलियो वनाउन र समाज सुधारका कार्यक्रम संचालन गर्न, घर परिवार, समाज र राज्यलाई जिम्मेवार वन्न र बनाउन नसकेका कारण सन्तोषजनक अवस्था देखिदैन ।


६. यहाँले वडालाई बालश्रममुक्त वडा वनाउनु भयो त्यसको कार्यान्वयनको अनुगमन गर्नुभएको छ ?


२०७६ साल भाद्र २८ गतेका दिन वाड नं.६ लाई बालश्रम मूक्त वडाको रुपमा तुलसीपुर उपमहानगरपालिकाबाट विधिवत घोषणा गरिएको छ । त्यस दिन पछाडी कहि कसैले बालश्रम पुनः प्रयोग गरेको नगरेको बारे टोल विकास संस्था मार्फत जानकारी लिने काम गरिएको छ । हालसम्म खवर नआएकोले स्थलगत अनुगमनको कार्यक्रम गरियको छैन् ।

२०७६ चैत्र महिनादेखि कोरोनाको संक्रमणबाट बच्न, सुरक्षा मापदण्ड पुरा गर्न र लकडाउनलाई पालन गर्नपर्ने भएकाले घरदैलो अनुगमन कार्य स्थगन गरिएको छ । तथापि बालश्रम बिरुद्ध सूचनाका होर्डिङ्ग वोर्ड स्थापना, रेडीयोबाट जानकारी दिने, फोनबाट सूचा दिने र लिने कार्य भईरहेकोछ ।

७. श्रमिक बालबालिकाहरुलाई श्रमबाट मुक्त त गरियो तर के उनीहरुको जीवन सहज छ त ?


बालअधिकार संरक्षणका लागि बालश्रम निषेध एवं नियमन गर्न बनेको ऐन २०५६ र बालबालिका सम्बन्धी ऐन २०७५ मा बालबालिकालाई कसैले पनि श्रममा प्रयोग गर्न गराउन पाईदैन भनेकोछ । यसको मतलव बालबालिकाहरु जोखिमा नपरुन र उनको जीवन र विकासको क्रममा सहजता आवस भन्नका लागि हो । बाश्रममुक्त पछाडी उनीहरु अभिभावकको संरक्षणमा हुनु पर्दछ र उनीहरुको अधिकारको ४ क्षेत्र (बाच्न पाउने अधिकार,संरक्षणको अधिकार,सहभागिताको अधिकार र विकास गर्न पाउने अधिकार) को सुनिश्चित गरिएको छ भने जीवन पकै सहज बन्न सक्दछ ।

८. तपाई स्थानीय सरकारको प्रतिनिधिका हैसियतले बालबालिकाका लागि के के गर्नुभयो ?


पहिलादेखि नै सरकार संग साझेदारीमा म र मेरो संस्थाबाट बाल अधिकारको क्षेत्रमा कालत गर्ने र अप्ठेरो परेको बेला बालबालिकाहरुलाई आवश्यक सहयोग गर्दै आएको छुँ ।
आज स्थानीय सरकारको प्रतिनिधि भएका नाताले बालबालिकाको क्षेत्रमा नीति निर्माण गर्ने र निर्माण पश्चात कार्यान्वयन पक्षमा काम गर्दै आएको छु ।

जस्तै बालबालिकाहरुलाई श्रमबाट मूक्त गर्ने, शैक्षीक सामाग्री सहयोग प्रदान, बाल विवाहमा रोक लगाउने, बाल खेलकुद मनोरन्जनमा खेल सामग्री वितरणमा सहयोग, सचेतनाका लागि सडक नाटकको तालिम÷प्रदर्शनमा सहयोग, रेडियो कार्यक्रममा बालबालिकाको आवाज जिङ्गल निर्माण÷प्रशारण, होर्डिङ वोर्डहरु स्थापना, असहाय बाल हितकोषको स्थापना, बालअधिकार संरक्षणको सवालमा बालबालिका र सरोकारवालाहरुलाई तालिम, दीर्घकालिन रणनीतिक योजना निर्माणमा सहजीकरण, बालश्रमको अवस्था अध्ययन सर्वेक्षण, मेयरसंग बालबालिका कार्यक्रममा उर्जा दिने काम गरेको छु ।

९. बालबालिकाहरु नै आफ्ना मुद्दाहरुप्रति कत्तिको सचेत छन् ?


बालबालिकाहरु आफ्नो मुद्दाप्रति सबै सचेत छैनन् भन्न मिल्दैन । जुन बालबालिकाहरु आफ्नो परिवार,घर,समुदाय बालमैत्री वातवरणमा हुर्केका छन त्यहाँ अवश्य पनि बालबालिकाहरु बाल अधिकारबाट संरक्षित छन् र जुन परिवार, घर र समुदायहरु बालमैत्री छैनन् त्यहाँ बालबालिकाहरु धेरै अधिकारबाट बन्चित छन् भने कतै आफ्नै परिवारका कारण जोखिम अवस्थामा रहेका पनि छन् ।

यस्तो अवस्थामा बालबालिकाहरु आफ्नो अधिकारप्रति सचेत रहिरहन सक्दैनन् र बालबालिका सम्बन्धि ऐन २०७५ को परिच्छेद १० को विविध, दफा ७७. बालबालिकाहरुको कर्तब्यपालना गर्ने बारे पनि उल्लेख गरिएकोछ । यसतर्फ हामीले केहि अभिमूखिकरण कार्यक्रम गर्ने हो भने बालअधिकारको लागि बालबालिकामा पनि सचेतना अभिबृद्धि हुनेछ ।


१०. अन्तमा


बालअधिकार, हामी सबैको सरोकारको विषय हो । आज राष्ट्रिय बाल दिवसको मौका पारेर तपाईको पत्रिका राप्ती समाचार राष्ट्रिय दैनिक मार्फत मेरो विचार राख्न दिनुभएकोमा तपाईहरु सबैलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । १८ बर्ष पुरा नभएका सबै मानिसहरु (बालबालिका) लाई बाल दिवसको अवसरमा हार्दीक मंगलमय शूभकामना दिदै विपद्मा बालअधिकारको सुुनिश्चितताका लागि म र मेरो प्रतिनिधित्व रहेको संस्थाको तर्फबाट र स्थानीय सरकारको जनप्रतिनिधिकोतर्फबाट पनि प्रतिबद्धता ब्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस