कक्षा १२ काे पहिलाे चरणकाे परीक्षा दशै अगाडी

खबरशाला संवाददाता  |  भदौ २३, २०७७

तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरण-चरणमा गर्ने तयारी गरेको छ । कोरोनाको असर नरहेको जिल्लामा पहिलो चरणमा परीक्षा गर्ने गरी बोर्डले प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको हो । 

‘विभिन्न विकल्पका विषयमा छलफल भइरहेको छ । सरकारले स्वीकृति दियो भने कोरोनाको असर नभएको ठाउँमा पहिलो चरणमा परीक्षा गर्न सकिन्छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘सरकार कोरोना नियन्त्रणमा फोकस रहेकाले गाह्रो भएको हो । भोलि परीक्षा गर्दा कोरोना फैलने जोखिम पनि उत्तिकै छ ।’

सरकारले स्वीकृति दिए पहिलो चरणको परीक्षा दसैँअघि गर्न सकिने उनले बताए । ‘परीक्षा कोभिडमा निर्भर छ । अवस्था कसरी अगाडि बढ्छ अहिले नै भन्न सकिदैँन । तर, सरकारले स्वीकृति दियो भने दसैँअघि कोरोना प्रभाव नरहेको क्षेत्रमा परीक्षा गर्न सकिन्छ,’ उनले भने  । 

१२ को परीक्षा गत ८ वैशाखका लागि तोकिएको थियो । कोरोना भाइरसका कारण स्थगित भएको १२ को परीक्षाका विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।

कक्षा १० को विद्यालयले मूल्याङ्कन गरेर नतिजा सार्वजनिक भइसकेको छ भने ११ को परीक्षा विद्यालयलाई नै गर्न दिने निर्णय भइसकेको छ । १२ को परीक्षाका विषयमा निर्णय नहुँदा विद्यार्थी अन्योलमा छन् ।

प्रतिक्रिया दिनुहोस